राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै प्रभावित क्षेत्रमा खोजी, उद्धार तथा राहत वितरणको कामलाई थप तीव्रता दिन आग्रह गरेको छ ।
आइतबार पार्टी कार्यालयमा बसेको बैठकले बाढी प्रभावित क्षेत्रमा अझै पनि खोजी तथा उद्धारको कामलाई प्रभावकारी बनाउन र पीडित परिवारलाई राहतको अनुभूति हुने गरी सेवा प्रवाह गर्न सरकारसँग आग्रह गरेको हो ।
बैठकपछि निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता जगदीश खरेलले खोजी, उद्धार र राहतको चरणपछि अब पुनर्स्थापना तथा पुनर्निर्माणको काम सुरु हुन लागेको जानकारी दिए । प्रभावित क्षेत्रमा कुनै पनि किसिमको कमीकमजोरी हुन नदिन सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।
बेपत्ता व्यक्तिको शव पहिचान हुन नसकेको अवस्थामा डीएनए परीक्षणलाई तीव्रता दिनसमेत रास्वपाले माग गरेको छ । अझै पाँच हजारभन्दा बढी व्यक्ति बेपत्ता रहेको उल्लेख गर्दै पार्टीले मृत्यु भएको वा नभएको विषयमा छिटो छिनोफानो गर्नुपर्ने जनाएको छ । कानुनी अड्चन भए कानुन संशोधन गरेर भए पनि मृत्यु प्रमाणपत्र उपलब्ध गराउन तथा पीडित परिवारको सहमतिमा राहत, पुनर्निर्माण र पुनर्स्थापनाको काममा सरकारले सहजीकरण गर्नुपर्ने रास्वपाको धारणा छ ।
बैठकमा मधेस प्रदेशको अधिवेशनका क्रममा देखिएका आन्तरिक समस्याबारे पनि छलफल भएको थियो । सहमहामन्त्री हरि ढकाल संयोजक रहेको समितिले यससम्बन्धी अडिट रिपोर्ट पेस गरेको र विस्तृत रिपोर्ट अर्को साता बुझाइने प्रवक्ता खरेलले जानकारी दिए ।
त्यस्तै, पार्टीले अनुशासन आयोग तथा केही विभागमा नयाँ सदस्य मनोनयन गरेको छ । उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका उपलब्धिबारे पनि बैठकमा समीक्षा गरिएको थियो ।
भोटेकोशी बाढीपछि स्थगित भएका पार्टीका औपचारिक तथा नियमित गतिविधि पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टी सभापति रवि लामिछानेले सरकारका मन्त्री, निर्वाचित सांसद तथा पार्टी नेताहरूको आचरण सुधार गर्दै पार्टी र सरकारबीचको सम्बन्धलाई थप बलियो बनाएर अघि बढ्न निर्देशन दिएका छन् ।