नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरी निकासी र भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरी बल, नेपालले आफ्नो सक्रियता बढाएको छ।
पछिल्लो दुई दिनमा सशस्त्र प्रहरीको टोलीले पर्साका विभिन्न स्थानबाट ६ लाख २४ हजार ५० रुपैयाँ बराबरको अवैध सामान र सवारी साधन बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वाटर पर्साका सूचना अधिकारी तथा नायव उपरीक्षक बिश्वराज योन्जनका अनुसार, कार्तिक ६ गते बोर्डर आउटपोष्ट प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठ्ठा स्थित सीमा क्षेत्रबाट भारतबाट नेपालतर्फ ल्याइँदै गरेको २ लाख ७६ हजार ३ सय ४० रुपैयाँ मूल्यको कपडा बरामद गरेको थियो।
त्यसै दिन, सोही गणको टोलीले धोविनी गाउँपालिका–१, जानकीटोलबाट मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको ७३ हजार ५ सय रुपैयाँ बराबरको किराना र कस्मेटिक सामान बरामद गरेको छ। प्रहरी देख्दा तस्कर मोटरसाइकल छोडेर भाग्न सफल भएका थिए।
त्यसैगरी कार्तिक ७ गते, बोर्डर आउटपोष्ट अमरपट्टीबाट खटिएको टोलीले बिन्दवासिनी गाउँपालिका–३, झौवाबाट नेपालबाट भारततर्फ अवैध निकासी गर्न लागिएको ४ हजार २ सय १० रुपैयाँ मूल्यको स्याउ र उक्त कार्यमा प्रयोग भएको २ लाख ७० हजार मूल्यको मोटरसाइकल नियन्त्रणमा लिएको छ।
बरामद गरिएका सम्पूर्ण सामान, कपडा, किराना, कस्मेटिक वस्तु र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
सशस्त्र प्रहरीले भने, चाडपर्वको समयमा तस्करी र अन्य आपराधिक गतिविधि बढ्न सक्ने भएकाले सीमा सुरक्षामा थप कडाइ गरिएको छ।