मधेश प्रदेशका चौथो मुख्यमन्त्रीका रूपमा लोसपा नेपालका नेता जितेन्द्र सोनार ‘सोनल’ले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा सोनललाई शपथ गराएकी हुन्। मुख्यमन्त्री सोनलले आफ्नो मातृभाषा भोजपुरीमा शपथ ग्रहण गरेका हुन्।
सोनलसँगै कनिश पटेल र महेश यादवले विना विभागीय मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। दुवै जना सांसदहरू गठबन्धनको तर्फबाट सरकारमा सहभागी भएका हुन्।

सोनल बुधबार जसपा नेपाल, माओवादी केन्द्र, लोसपा नेपाल, एकीकृत समाजवादी र जनमत पार्टीका केही सांसदहरूको समर्थनमा मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।
यसअघि जनमत पार्टीका तर्फबाट सतीशकुमार सिंह मुख्यमन्त्री रहेका थिए। सिंहले राजीनामा दिएपछि नयाँ राजनीतिक समीकरण बनेको थियो र त्यसको आधारमा सोनल नेतृत्वमा नयाँ सरकार गठन गरिएको हो।
शपथ ग्रहण समारोहमा प्रदेश सरकारका उच्च अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्यहरू र सरोकारवाला निकायका प्रमुखहरूको उपस्थिती थियो।
मुख्यमन्त्री बनेलगत्तै सोनलले प्रदेशमा स्थायित्व र विकासमुखी शासन दिने प्रतिबद्धता व्यक्त गरेका छन्। “हामी सहकार्य र स्थायित्वका आधारमा प्रदेशको समृद्धि र सुशासनको दिशामा अघि बढ्नेछौँ,” सोनलले शपथपछि संक्षिप्त प्रतिक्रिया दिँदै भने।
सरकार गठनसँगै मधेश प्रदेशमा नयाँ सत्ता समीकरण बनेको छ। प्रदेशसभामा सोनलको पक्षमा रहेका दलहरूले निकट भविष्यमै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्।