सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मधेश प्रदेशमा बाँकी अधिवेशन अनिश्चित बनेको छ। सांगठनिक अवस्था र कार्यसम्पादनको अडिट गर्न पार्टीले केन्द्रीय नेताहरू सम्मिलित कार्यदल मधेशका आठवटै जिल्लामा पठाए पनि अधिवेशनको अन्योल हट्न सकेको छैन।
सहमहामन्त्री हरि ढकालको नेतृत्वमा संगठन विभाग प्रमुख प्रमोद न्यौपाने, प्रवक्ता जगदीश खरेल, सहप्रवक्ता सुरेन्द्र चौधरी तथा नेता अशोक कुमार चौधरी र पुनम अग्रवाल सम्मिलित टोलीले मधेशका आठ जिल्लामा पुगेर स्थानीय नेता–कार्यकर्तासँग छलफल गरेको थियो। टोलीले पालिका, क्षेत्र, जिल्ला र प्रदेश तहका संगठनको अवस्था तथा आन्तरिक विवादबारे जानकारी लिएको थियो।
कार्यदलले हालसम्म विस्तृत प्रतिवेदन भने बुझाइसकेको छैन। मधेशबाट संघीय संसद्मा रहेका सांसद तथा केन्द्रीय सदस्यहरूसँग समेत छलफल गरेपछि विस्तृत प्रतिवेदन तयार गर्ने तयारी छ। प्रारम्भिक अध्ययनबारे सहमहामन्त्री ढकालले पार्टी सचिवालय बैठकमा जानकारी गराइसकेका छन्। विस्तृत प्रतिवेदन आएपछि मात्रै मधेशको संगठन र अधिवेशनबारे थप रणनीति तय गर्ने पार्टीको तयारी छ।
सदस्यता तथा महाधिवेशन प्रतिनिधिसम्बन्धी विवादका कारण रास्वपाले मधेशका सात जिल्लामा अधिवेशन नगरी केन्द्रीय महाधिवेशन गरेको थियो। मधेश प्रदेश समितिको अधिवेशनसमेत हुन सकेको छैन। आठ जिल्लामध्ये पर्सामा मात्रै नयाँ नेतृत्व चयन भएको छ। बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा अधिवेशन हुन बाँकी छ।
कार्यदल सदस्य तथा सांसद पुनम अग्रवालका अनुसार तत्कालै मधेशमा अधिवेशन हुने सम्भावना कम छ। कार्यदलले स्थानीय तहमा देखिएका आन्तरिक विवाद, संगठन निर्माणको प्रक्रिया तथा अधिवेशनका क्रममा देखिएका समस्याबारे अध्ययन गरिरहेको छ।
कतिपय स्थानमा भइसकेका अधिवेशनसमेत रद्द गर्नुपर्ने सुझाव कार्यकर्ताबाट आएको छ। पार्टीको विधि उल्लंघन गरी अधिवेशन गरिएको, आफूअनुकूल व्यक्तिलाई संगठनमा स्थान दिइएको र महाधिवेशन प्रतिनिधि बनाउने उद्देश्यले मनपरी सदस्यता वितरण गरिएको गुनासो कार्यदलसमक्ष आएको बताइएको छ।
कार्यदलको अडिट प्रतिवेदनका आधारमा आवश्यक कारबाही तथा सुधारका काम अघि बढाउने तयारी रहेको अग्रवालले बताएकी छन्। पार्टीको विधि विपरीत भएका अधिवेशन रद्द गरी स्थानीय तहको निर्वाचनसम्म तदर्थ समितिमार्फत संगठन सञ्चालन गर्ने विकल्पमा समेत छलफल भइरहेको छ।
मधेश प्रदेशका रास्वपा सभापति तपेश्वर यादवका अनुसार १३६ पालिकामध्ये हालसम्म करिब १० देखि १५ पालिकामा मात्रै अधिवेशन सम्पन्न भएको छ।
यसैबीच, आगामी स्थानीय तह निर्वाचनलाई लिएर संगठनभित्र देखिएको प्रतिस्पर्धाले समेत अधिवेशन प्रक्रियामा प्रभाव पारेको कार्यदलको बुझाइ छ। स्थानीय तह, नगर, जिल्ला र प्रदेश नेतृत्वमा रहेका व्यक्तिले उम्मेदवारको टिकट वितरण गर्ने बुझाइका कारण पनि आन्तरिक प्रतिस्पर्धा बढेको नेताहरूको भनाइ छ।
रास्वपाले भने स्थानीय तहका उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सनको व्यवस्था गरेको जनाएको छ। उम्मेदवारको क्षमता, सांगठनिक सक्रियता, छवि, योग्यता तथा उम्मेदवार एकेडेमीको प्रस्तुतिलगायतका आधारमा मूल्यांकन गरी उम्मेदवार छनोट गर्ने पार्टीको विधि रहेको बताइएको छ।
कार्यदलको विस्तृत प्रतिवेदन आउन बाँकी, सभापति रवि लामिछानेको मधेश भ्रमण अनिश्चित तथा चाडपर्वको समयसमेत रहेकाले मधेशमा रास्वपाको अधिवेशन तत्काल हुने सम्भावना नरहेको नेताहरूको बुझाइ छ।