नेकपा (एमाले)का उपाध्यक्ष गुरु बरालले सरकारले अध्यक्ष केपी शर्मा ओलीलगायत विपक्षी नेताहरूमाथि सीमाबन्दी लगाएर निर्वाचनको वातावरण कमजोर बनाएको आरोप लगाएका छन्।
निर्वाचन आयोगले बिहीबार राजनीतिक दलहरूसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बरालले वर्तमान परिस्थितिमा निष्पक्ष र भयरहित निर्वाचन सम्भव नदेखिएको बताए।
उनका अनुसार शीर्ष राजनीतिक नेतृत्वमाथि सीमाबन्दी लगाउने, राहदानी रोक्का गर्ने तथा राजनीतिक स्वतन्त्रतामा हस्तक्षेप गर्ने कार्यले निर्वाचनको विश्वसनीयता माथि प्रश्न उठाएको छ।
“निर्वाचन गराउन निष्पक्ष, धाँधलीरहित र भयरहित वातावरण आवश्यक पर्छ,” बरालले भने, “तर वर्तमान सरकारले हाम्रा अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेताहरूलाई सीमाबन्दीमा राखेको छ, राहदानी रोकेको छ। यसले स्वतन्त्र वातावरणमा निर्वाचन गराउन अवरोध सिर्जना गरेको छ।”
बरालले देशभर सुरक्षा निकायको अवस्था कमजोर रहेको भन्दै निर्वाचन सुरक्षामा समेत शंका उत्पन्न भएको बताए। उनका अनुसार सरकारले हालै लुटिएका हतियार फिर्ता गर्न, फरार कैदीलाई नियन्त्रणमा लिन तथा शान्ति–सुरक्षा मजबुत गर्न नसकेको कारण जनतामा भयको माहोल छ।
“निर्वाचन हुनका लागि सरकार गम्भीर हुनुपर्छ,” उनले भने, “पहिले देशमा सुरक्षाको अनुभूति गराउनुपर्छ, अपराध नियन्त्रण गर्नुपर्छ, अनि मात्रै मतदाताले स्वतन्त्र वातावरणमा मतदान गर्न सक्छन्।”
एमाले उपाध्यक्ष बरालले सरकारले निर्वाचनका तयारीमा दलहरूसँग प्रत्यक्ष संवाद नगरेकोप्रति पनि असन्तोष व्यक्त गरे। उनका अनुसार निर्वाचनजस्तो संवेदनशील प्रक्रियामा सबै दलबीच आपसी विश्वास र सहकार्य आवश्यक हुन्छ।
“सरकारले दलहरूसँग समन्वय र संवादका माध्यम अवरुद्ध गरेको छ,” उनले भने, “यस्तो अवस्थामा देशलाई स्थिरतामा लैजाने निर्वाचन गराउनु सरकारकै जिम्मेवारी हो।”
निर्वाचन आयोगले बिहीबार आयोजना गरेको छलफलमा आगामी निर्वाचनका तयारी, मतदाता नामावली अद्यावधिक र सुरक्षा व्यवस्थाबारे दलहरूको सुझाव लिएको थियो। आयोगका अधिकारीहरूका अनुसार दलहरूले आयोगलाई स्वतन्त्र रूपमा काम गर्न पाउने वातावरण सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन्।