मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री जितेन्द्र सोनलले आज (बिहीबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। बिहान साढे ११ बजे प्रदेश प्रमुखको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ।
लोसपाका नेता सोनल बुधबार जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादीको समर्थनमा प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री नियुक्तिको क्रममा प्रदेशसभामा कांग्रेस र एमालेका सांसदहरूले विरोध जनाएपछि सुरक्षा व्यवस्थालाई कडा बनाउँदै सोनललाई प्रदेश प्रमुख भण्डारीले नियुक्तिपत्र प्रदान गरेकी थिइन्।
यसअघि जनमत पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका सतीशकुमार सिंहले राजीनामा दिएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढाइएको हो। सिंहको राजीनामापछि इतर गठबन्धनले बहुमतको दाबी गर्दै सोनलको नेतृत्वमा नयाँ सरकार गठन गरेको हो।
कांग्रेस र एमालेले भने उक्त नियुक्ति प्रक्रियाप्रति असहमति जनाउँदै प्रदेश प्रमुखसमक्ष औपचारिक आपत्ति दर्ता गराएका छन्। उनीहरूको तर्क छ— जनमत पार्टी विभाजित भइसकेको अवस्थामा उक्त दलका सबै सांसदहरूको हस्ताक्षरका आधारमा गरिएको दाबी वैध हुन सक्दैन।
जनमतका दुई प्रदेशसभा सदस्य— तत्कालीन मुख्यमन्त्री सतीशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन साह—ले बुधबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा गएर जनस्वराज पार्टी रोजेका थिए। यसपछि कांग्रेस र एमालेले सोनलको पक्षमा गरिएको बहुमतको दाबी अमान्य हुने दाबी गरेका छन्।
तर नयाँ दल रोजे पनि सिंहले आफूहरूको समर्थन सोनलकै पक्षमा रहने स्पष्ट पारेका छन्। सिंहले भने,
“हिजो म र त्रिभुवन साहजीले जनस्वराज पार्टी रोजेका छौँ। तर नयाँ दल रोजे पनि हाम्रो समर्थन जितेन्द्र सोनललाई नै रहनेछ। यस विषयमा हामी आज बिहान पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्नेछौँ।”
प्रदेशसभामा संख्यात्मक समीकरण जटिल बन्दै गए पनि गठबन्धनका दलहरूले नयाँ सरकारलाई स्थायित्व दिलाउने प्रतिबद्धता जनाएका छन्।