जहाँ लोकतान्त्रिक शासनको गुनासो सुन्ने नेता हुनु पर्थ्यो, त्यही वडाध्यक्ष आफ्नै वडा बसोबास गर्ने पाँच दलित परिवारको घर तोडफोड र लुटपाटमा संलग्न भेटिए। सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा भएको यस घटनामा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन्।
पीडितको उजुरीपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो। तर सोही क्रममा उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखिएको सिराहाका प्रहरी उपरीक्षक (एसपी) अनन्तराम शर्माले जानकारी दिए।
वडाध्यक्ष यादवसँगै स्थानीय राजकुमार सिंह, प्रभास सिंह, नितेश सिंह, शैलेन्द्र सिंह, कैलाश सिंह, गणेश कामती, मुस्तफा राइनलगायत १३ जनाविरुद्ध आपराधिक उपद्रवको जाहेरी परेको थियो। एसपी शर्माका अनुसार, वडाध्यक्ष यादवसहित तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने बाँकी व्यक्तिको खोजी कार्य जारी छ।
घटनास्थल अरङको ठूलो पोखरीको उत्तरपट्टी डिलमा रहेको थियो। शोभित पासवान, बिन्दे पासवान, अशोक पासवान, राजकुमार पासवान र रासलाल पासवानको घर शुक्रबार बिहान ५ बजेतिर प्रहरीकै अगाडि तोडफोड र लुटपाट भएको पीडितले बताएका छन्।
स्थानीयले बताएअनुसार, राजकुमार सिंह, प्रभास सिंह, शैलेन्द्र सिंह, नितेश सिंहलगायत २०–२५ जनाको समूहले घर तोडफोड र लुटपाट गरेका थिए। मिर्चैया र सशस्त्र प्रहरीको थप टोली पुगेपछि उनीहरू भागेका थिए।
स्थानीय स्रोतका अनुसार, असोज १ गतेको विश्वकर्मा पूजामा अरङ बजारको आर्केस्ट्रा स्थलमा दलित समुदायसँग प्रभाससहितले विवाद गरेका थिए। त्यस घटना विरुद्ध दलित समुदायले प्रहरीमा उजुरी दिएपछि उनीहरुले घरमा तोडफोड र लुटपाट गरेको आशंका गरिएको छ।
एसपी शर्माले भने, “जाहेरीमा १३ जनामाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। अनुसन्धानबाट थप संलग्न व्यक्तिहरू भेटिए उनीहरूलाई समेत कानूनी कारबाही गरिनेछ।”