प्रा.डा. दीपक शाक्य
उपकुलपति, मधेश विश्वविद्यालयभ्रष्टाचारमुक्त समाज आन्दोलनको सार्थकता
सुशासन र भ्रष्टाचारको विरुद्धमा जेन जी समूहले आन्दोलन गरेको थियो । नेपाली जनता नेपालमा व्यवस्था परिवर्तनभन्दा पनि राजनीति गर्नेहरूको आचरण परिवर्तनमा केन्द्रित थिए । त्यो कुरा त्यसबेलाको सरकारले बुझ्न सकेन । देशमा सुशासन कायम राख्नुका साथै भ्रष्टाचारलाई निर्मूल पार्नु उनीहरूको उद्देश्य थियो । युवा पुस्ताको मागलाई राज्यसत्ताले ध्यान दिन सकेन । फलस्वरुप देशमा आन्दोलन भयो । अरबौंको धनजनको क्षति भयो । जसले गर्दा देश आर्थिक संकटमा धकेलिएको छ । भ्रष्टाचारमुक्त समाजको निर्माण गर्न सकियो भने आन्दोलनको सार्थकता सावित हुनेछ ।
प्रा.डा. हरेराम ठाकुर
अध्यक्ष
नेपाल मानव अधिकार संगठन, पर्साक्षतिग्रस्त संरचनाको पुनर्निर्माण चुनौतीपूर्ण छ
जेनजीले गरेको आन्दोलन अहिलेको समयमा हुनुपर्ने आन्दोलन थियो । केही मुख्य पार्टीहरूको शीर्ष नेताहरूले गरेको कुकर्म, भिजन भएको नेता नहँुदा युवा पुस्ताहरू आन्दोलनमा जानु परेको हो । अधिकांश युवा रोजगारीको लागि देशबाहिर छन् । देशमा रहेका युवाहरू फेसबुक र इन्सटाग्राममा व्यस्त थिए । देशको अवस्था पहिलादेखि नै बिग्रिँदै आएको छ । तत्काल सरकारले फेसबुक बन्द गराएर युवाहरूको सरकारप्रतिको असन्तुष्टिलाई आक्रोशमा परिणत गरिदियो । नेपालमा भएको भ्रष्टाचारलाई निर्मूल पार्न वर्तमान सरकारले भूमिका खेल्नु पर्दछ । युवाहरूको बलिदानलाई ओइलाउन नदिएर देशलाई भ्रष्टाचारको जंजालबाट मुक्त गराउनु पर्छ । वर्तमान प्रधानमन्त्रीलाई देश विकास, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणको चुनौती छ ।
डा. निरजकुमार सिंह
संयोजक
नेपाल चिकित्सक संघ, मधेश प्रदेश देशलाई आर्थिक क्रान्तितर्फ लानु पर्छ
संविधान कार्यान्वयनपछि जति सरकारहरू बने कुनै पनि सरकारले स्थायी रुपमा ५ वर्षसम्म सरकार चलाउन नसकेको अवस्था थियो । समाजमा स्थायी सरकार नहुँदा वितृष्णा फैलिएको थियो । यसैबीचमा नेपाली कांग्रेस र नेकपा एमाले पार्टीको गठबन्धन सरकारले केही संविधानहरू संशोधन गरेर देशलाई नयाँ आर्थिक क्रान्तिमा लाने र देशलाई आर्थिक भार कम गर्ने छन् भन्ने आशा जनतालाई थियो । तर, त्यो पूरा भएन । जेनजीले गरेको आन्दोलन नभएर क्रान्ति हो । संविधानहरूलाई संशोधन गरेर देशलाई राजनीतिक स्थायित्व र आर्थिक क्रान्तितर्फ लानु पर्छ ।
रामनारायण प्रसाद कुर्मी
अध्यक्ष, पर्सा जिल्ला अदालत बार एशोसियसन
भ्रष्टाचारलाई निर्मूल पार्नु पर्दछ
जेनजीको आन्दोलन भ्रष्टाचारविरुद्ध शुरू भएको हो । सरकारको रवैया र आन्दोलनमा भएको घुसपैठका कारण आन्दोलनको प्रारुप बदलियो । सरकारले युवाहरूको हत्या गर्न थालेपछि आन्दोलनमा होमिएका युवाहरूमा आक्रोश बढ्दै गएर सोच्नै नसकिने घटनाहरू भए । अनेक तत्वहरू समावेश भएर जेनजीको नाममा सरकारी भवनलगायत सम्पूर्ण प्रमाण कागजात जलाएर नष्ट गर्ने काम भयो । जेनजीको आन्दोलनले सरकार गठनमा नयाँ तरंग ल्यायो । संविधान बमोजिम ६ महिनाभित्र निर्वाचन गराउनुपर्ने हुन्छ । नयाँ गठित सरकारले निर्वाचन गराउनुका साथै दैनिक प्रशासन चलाउने, पुनसंरचनाहरू निमार्ण गर्नुपर्ने भएकोले वर्तमान सरकारलाई चुनौती पनि धेरै छ । नयाँ सरकारलाई काम गर्नलाई सहज बनाउन सबैको सहयोगको आवश्यक छ । भ्रष्टाचारलाई निर्मूल पार्न युवाहरूले गरेको यो अभियानलाई सबैले सजग र सचेत भएर सहयोग गर्दै भ्रष्टाचारलाई निर्मूल पार्नु पर्छ ।
हरि गौतम
अध्यक्ष
वीरगञ्ज उद्योग वाणिज्य संघउद्योग प्रतिष्ठान जलाएर के उपलब्धि भयो
राजनीति अझै संलिएको छैन । आन्दोलनको कोर्स पूरा हुन पाएको छैन । संविधान संशोधन हुने भनिएको छ । तर, संसद नै विघटन गरिएको अवस्थामा संशोधन कसरी गर्ने भन्ने प्रश्न छ । पहिलाकोजस्तै चुनाव हुने हो भने अहिलेको यो परिवर्तनको औचित्य के भयो रु अर्को, भोलिको दिनमा यसरी नै सत्तामा जान सकिने रहेछ भन्ने प्रवृत्ति दोहोरिएमा के गर्ने रु अहिले नै सरकारले लक्ष्यमा राखेको राजस्व उठे पनि चालू खर्चका लागि १ खर्ब रुपैयाँ राजस्व कम हुनेमा अब चुनाव र पुनर्निमाणको खर्च थपियो । अहिलेको राजनीति ठिक हुन समय लागे पनि हुँदैन । अर्थतन्त्रको समस्या तान्न सकिन्न । निजीक्षेत्रले कामदारलाई तलबै खुवाउन नसकिने अवस्था हुन सक्छ । निजीक्षेत्रको लगानीमा खुलेका औद्योगिक र व्यापारि प्रतिष्ठान जलाएर के उपलब्धि भयो । ती व्यापारीले लगानी गरेर के अपराध गरेका छन् रु आन्दोलनमा घुसपैठ भयो, यसले नराम्रो परिणाम ल्यायो ।
प्रतिमा चौरसिया
सचिव
पर्सा जिल्ला अदालत बार एशोसियसन
आन्दोलनले भ्रष्टाचारी डराएका छन्
जेनजीहरूले भ्रष्टाचारलाई निर्मूल पार्नका लागि गरेको आन्दोलन हो । अन्य पार्टीका व्यक्ति र समूहहरूको घुसपैठले गर्दा धनजन दुवैको धेरै क्षति भएको छ । शिक्षाका साथै रोजगारीको अवसरलाई वृद्धि गर्नुपर्ने देखिन्छ । राजनीति गरेर भ्रष्ट काम गर्नेहरूलाई अभियोग लगाई मुद्दा चलाएर कार्वाही गर्नु पर्छ । आगामी पुस्ताले कुनै पनि सम्पदा, सम्पत्तिलाई मास्नुृअगाडि सोच्नु पर्छ । भएका सम्पत्तिहरूलाई कसरी सदुपयोग गर्ने विषयमा सोच्नु पर्छ । जेनजीको आन्दोलनले भ्रष्टाचारीहरूभित्र डर उत्पन्न गराएको छ । राज्यका प्रमुख अंगहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । सिंहदरबार, सर्वोच्च अदालत र संसद भवन जल्नु नेपाल सरकारको सम्पत्ति नै नष्ट हुनु हो । ती सम्पत्तिहरूलाई कसरी पुन बनाउने भन्नेतर्फ ध्यान दिनु पर्छ । समाज नबुझेको व्यक्तिलाई राजनीतिमा आउन दिनु हँुदैन । देशलाई बनाउने हो भने संघीयता हटाउनु पर्छ । प्राकृतिक सम्पदाको खानी भएको देशको जनताको टाउकोमा ऋणको भारमात्र देखिएको छ । प्राकृतिक सम्पदालाई सदुपयोग गरेर कसरी कर संकलन गर्ने, पारदर्शिताका साथ काम गरेमा केही हदसम्म भ्रष्टाचारबाट देशलाई जोगाउन सकिन्छ ।
मनिषप्रसाद केशरी
सचिव
नेपाल ईन्जिनियरर्स एशोसिएसन वीरगञ्ज केन्द्र
आन्दोलनलाई अवसरको रुपमा लिनुपर्छ
जेनजीको आन्दोलनले देशकै लागि राम्रो गरेको छ । यसमा सबै क्षेत्रका संघ÷संगठनहरूले अवसरको रुपमा लिनु पर्छ । सरकारी कार्यालयदेखि पूर्वाधारहरू सबै ध्वस्त भएको छ । अहिलेको अवस्थालाई हामी सबैले मिलेर माथि उठाउनुपर्ने छ । सरकारले मात्र उठाउन सक्दैन । यसलाई उठाउनको लागि हामी सबैले मिलेर काम गर्नु पर्दछ । युवाहरूको माग के हो ? भ्रष्टाचारलाई हटाउने काम गर्नुपर्छ । भ्रष्टाचार भनेको लिनेमात्र होइन, दिनेहरू पनि दोषी हुन् । देशको आर्थिक अवस्था राम्रो छैन । पुर्वधारहरू बनाउनको लागि अन्तराष्ट्रिय सहयोग लिनु पर्छ । सरकारले पनि नागरिकहरूसँग सहयोग माग्नु पर्छ । यसरी पूर्वाधार पुनर्निर्माण हुन सक्छ । हामीले अहिले धेरै राम्रो अवसर पाएका छौं यसलाई गुमाउनु हुदैन । ६ महिनापछि निर्वाचन हुन्छ त्यसमा हामीले राम्रो सरकार ल्याउनु पर्छ
श्याम बन्जारा
अध्यक्ष
नेपाल पत्रकार महासंघ, मधेश प्रदेश
पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति हुनु पर्दछ
आन्दोलनको आकृतिबारेमा अझै पनि स्पष्ट कुरा निस्किएको छैन । जेनजी गु्रपले जुन कुराहरू उठान गरेर आन्दोलन गरिरहेका छन् । त्यसमा अलगअलग कुराहरू आइरहेका छन । त्यसैभित्र विवादहरू भएपछि जेनजी ग्रुपले जुन उद्देश्यको साथ आन्दोलन गरेको थियो, त्यो आन्दोलनलाई अहिले अनेक तत्वहरूको घुसपैठका कारण पूरा हुन नसक्ने अवस्था खडा भएको छ । जसको कारणले दर्जनौं मानिसहरूको निधन भयो । त्यो निधनको पुरताल अब कसरी हुन सक्छ भन्ने खालको प्रश्न पैदा भएको छ । जहाँ जसले जेसुकै गरे पनि हाम्रो पत्रकारहरूको दृष्यमा पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति कहिँकतैबाट गरिँदैन भने जस्तोसुकै खालको परिर्तन निम्ति गरिएको आन्दोलनमा पनि हाम्रो भूमिका रहने छैन । पे्रस स्वतन्त्रता, मानव अधिकार, लोकतन्त्र, आधारभूत आवश्यताको पूरा गर्न जनत निर्वाचित शासन गर्नुपर्ने पत्रकार महासंघको माग हो । त्यो शासनलाई कहि यताउता जान दिनु हुन्न र लोकतन्त्रको विकल्प छैन । संघीय लोकतान्त्रिक गण्त्रन्तलाई एकातिर पन्छ्याएर कुनै एउटा योजना बुनिएको हो भने त्यसमा हाम्रो स्वीकार छ । आन्दोलनमा युवा पुस्ताको नेतृत्वमा समाजका विभिन्न तहतप्कामा आर्थिक क्षेत्रमा, समाजिक क्षेत्रमा अथवा अन्य क्षेत्रमा नयाँ मानिसलाई अवसर दिनु पर्छ, नेतृत्वमा आउनु पर्छ जस्ता कुराहरू सकारात्मक कुराहरू हुन् । भ्रष्टाचार व्यापक छ र त्यो भ्रष्टाचारलाई नियन्त्रण गर्नुपर्छ । भ्रष्टाचारमुक्त राष्ट्रको परिकल्पना हुनु पर्छ ।
ओमप्रकाश खनाल
अध्यक्ष, नेपाल पत्रकार महासंघ, पर्सा अर्थराजनीतिक स्थायित्वको रणनीतिक योजना चाहिन्छ
यो विद्रोहलाई शासकले देखाएको सपनाप्रतिको निरन्तर अन्याय र त्यसविरुद्ध विष्फोट भएको आक्रोशको रुपमा लिनु पर्दछ । जनताबाट निर्वाचित भएर आएका ठूला दलले आफैंले चलाएको सत्ता छोडेर भाग्नुपर्ने अवस्था आजको भोलि बनेको होइन । नागरिक आधारभूत आवश्यकताका लागि छट्पटिनुपर्ने, तर सत्ता र यसको आसपासका मानिसहरूको विलासी दिनचार्याले नागरिकमा असन्तुष्टि रोपिएको हो । त्यही असन्तोष विद्रोहमा रुपान्तरण भयो । राज्यका हरेक तह र तप्कामा व्याप्त खुलेआम भ्रष्टाचार, बेरोजगारी र अवसरहरूमा सीमित राजनीतिक ठालूहरूको हालीमुहालीले युवाहरूलाई सडकमा आउने परिस्थिति निर्माण गरिदिएको हो । यो स्वाभाविक थियो । युवा आन्दोलनमा स्वार्थी समूहको घुसपैठले सार्वजनिक सम्पत्तिको जुनखालको विनाश निम्त्यायो, आज खरानीको थुप्रोमाथि बसेर परिस्थिति सम्हाल्नुपर्ने अवस्था छ । यो दुःखद कुरा हो । स्वतन्त्र प्रेस लोकतन्त्रको जग हो भने लोकतन्त्रमा मात्रै पूर्ण प्रेस स्वतन्त्रता सम्भव हुन्छ भन्ने तथ्यलाई आत्मसात गरिनु पर्दछ । अहिले भनिएको भ्रष्टाचार नियन्त्रणका लागि पनि प्रेस स्वतन्त्रता जरुरी हुन्छ । अब जनउत्तरदायी राज्य संयन्त्रमार्फत राजनीतिलाई नागरिकमुखी बनाउँदै जलेका र भत्किएका संरचनाको पुनर्निर्माण र अर्थराजनीतिक स्थायित्वको स्पष्ट रणनीतिक योजना लिएर अघि बढ्नुको विकल्प छैन ।
शरण गुप्ता
युवा अभियन्ता
साझा भविष्य निर्माणको यात्रा शुरू भएको छ
जेनजी आन्दोलनपछि अहिलेको अवस्था धेरै गम्भीर तर आशापूर्ण छ । यो आन्दोलन केवल सडकमै सीमित थिएन । युवा र जनताभित्रको पीडा, अन्याय र थिचोमिचोविरुद्धको आवाज थियो । युवाहरू अब डराउँदैनन्, मौन बस्दैनन्, आफ्नो भविष्य आफैं बनाउन तयार छन् भन्ने यो क्रान्तिले देखाएको छ । देश अहिले राजनीतिक रूपमा अस्थिर छ । अर्थतन्त्र धरासायीजस्तो देखिन्छ । तर, यसलाई निराशा होइन, नयाँ शुरूवातको अवसरको रुपमा लिनु पर्छ । जब प्रणाली असफल हुन्छ, तब नयाँ विचार, नयाँ पुस्ता, नयाँ दिशा आवश्यक पर्छ । त्यही अवसर अहिले पाएका छौं । यो समय सबै एक ढिक्का भएर अघि बढ्नु पर्छ । हामीले राजनीतिलाई स्वच्छ बनाउन, आर्थिक स्थायित्व ल्याउन, रोजगारी सिर्जना गर्न र समाजलाई न्यायपूर्ण बनाउन सक्छौँ । यसको लागि केवल चर्को नारा होइन, निरन्तर काम र एकता चाहिन्छ । म सबै दाजुभाइ दिदीबहिनीहरूलाई अब समय आएको छ, केवल आलोचना गरेर होइन, आआफ्नो ठाउँबाट सानो भए पनि योगदान गरेर राष्ट्र पुनर्निर्माण शुरू गरौँ भन्न चाहन्छु । अब हाम्रो साझा भविष्य निर्माणको यात्रा शुरू भएको छ ।