रुवी साह हत्या प्रकरणका मुख्य आरोपी लक्ष्मण पासवानले आत्मदाह प्रयास गर्नुअघि फेसबुकमा भिडियो पोस्ट गर्दै आफूले नै रुवीको हत्या गरेको स्वीकार गरेका छन्।
भिडियोमा पासवानले रुवीलाई हत्या गरेदेखि आफ्ना हात काँपिरहेको र आफू बाँचेर के गर्ने भन्ने लागिरहेको बताएका छन्। उनले भने, “रुवीलाई मारेदेखि मेरो हात काँपिरहेको छ। मेरी जान मरिसकेकी छन्। म बाँचेर के गर्नु। पक्राउ परे १०/१५ वर्ष जेल जानुपर्छ।”
उनले रुवीसँगको प्रेमसम्बन्धबारे पनि विवरण सार्वजनिक गर्दै, हत्या अघि व्युटी पार्लरबाट आफ्नो कोठामा आएकी रुवीसँग ‘एकअर्काबिना बाँच्न नसक्ने’ संवाद भएको बताएका छन्। “मैले भनेँ मलाई मार, उनले भनिन् मलाई मारिदेऊ,” पासवानले भिडियोमा भनेका छन्।
विद्यालय जीवनदेखि सम्बन्ध रहेको र पछि अदालतमा विवाहसमेत गरेको पासवानले दाबी गरेका छन्। तर, आर्थिक समस्याले पारिवारिक तनाव सिर्जना भएको कारणले रुवीको हत्या गर्न पुगेको उनले बताएका छन्।
गत शनिबार राति गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा सुटकेसभित्र २६ वर्षीया रुवी साहको शव फेला परेको थियो। माधव नारायण नगरपालिका–२ माधवपुर माइत र भारतको मुजफ्फरपुर घर भएकी रुवी गौरमा डेरा लिएर बसेर ४ वर्षीया छोरालाई पढाउँदै आएकी थिइन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रुवीको गौरकै डेरामा हत्या गरी शवलाई रिक्शामा राखेर सडकमा फालिएको हो। लक्ष्मणको घर रुवीको माइत नजिकै पर्छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी नेत्रमणी गिरीका अनुसार पासवान सोमबार बिहान माधव नारायण नगरपालिका–६ स्थित नहरअगाडि आफ्नै शरीरमा आगो लगाएको अवस्थामा भेटिएका हुन्। उनलाई नियन्त्रणमा लिएर तत्काल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।