संविधानले राज्यका हरेक तह र तप्कामा महिलाको सहभागिता सुनिश्चत गर्न आरक्षणको व्यवस्था गरेको त छ, तर कार्यान्वयनका प्रक्रियागत र अव्यावहारिक कठिनाइहरूले उद्देश्य ओझेलमा परेको छ । समावेशी र न्यायपूर्ण समाज निर्माण गर्दै देशलाई आर्थिक, सामाजिक एवम् राजनीतिक अग्रगतिमा अघि बढाउने अभिप्रायमा महिलाको सार्थक नेतृत्वको अभाव खड्किएको छ ।
जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटका महिलालाई नेतृत्वको अवसरबाट वञ्चित गर्ने मनोविज्ञानलाई वैधानिक व्यवस्थाले पराजित गर्न नसकेको कार्यान्वयनका कटु अनुभवले पुष्टि गर्दै आएका छन् । अहिले नीतिहरुको नीति मानिएको राजनीतिमा महिलाको सहभागितामा सुधार नआएको होइन । तथापि, महिला नेतृत्वको सवाल केवल समावेशिताको कुरामात्र होइन, नीति निर्माणको तहमा महिलाहरूको नेतृत्वदायी भूमिका नभएसम्म समाजको साँचो समावेशी अग्रगति सम्भव नहुने राष्ट्रिय महिला आयोगकी पूर्वअध्यक्ष शेख चाँद ताराको बुझाइ छ ।
महिलाको नेतृत्व समावेशी विकास र अर्थपूर्ण लोकतन्त्रको आधारमात्र होइन, सन्तुलित, संवेदनशील र दिगो विकासको आधार हो । यही तथ्यलाई मध्यनजर गर्दै मध्य नेपालले सञ्चारकर्ममार्फत सामाजिक विकृति र विसंगतिविरुद्ध लड्ने अभियानसँगै नेतृत्वमा महिलाको समतामूलक सहभागिताको सवाललाई प्रमुखताको साथ उठाउँदै आएको छ ।
मध्य नेपाल मिडियाले आफ्नो साप्ताहिक पत्रिका, अनलाइन पोर्टल, अनलाइन टेलिभिजन र मध्य नेपाल पडकाष्टमार्फत महिलाको सार्थक नेतृत्वका एजेण्डाहरुलाई मुखरित गर्दै आएको मध्य नेपाल मिडियाकी सम्पादक कविता खड्का बताउँछिन् । मध्य नेपालले नेतृत्वमा महिलाको समतामूलक र वास्तविक सहभागितालाई मुख्य ध्येय बनाएर २०८१ साउनदेखि शुरू गरेको मध्य नेपाल पडकाष्टले १ वर्ष पूरा गरिसकेको छ । यो एक वर्षमा समाजका विभिन्न तह र तप्कामा नेतृत्व गरिरहेका महिला नेतृत्वको अनुभव सार्वजनिक गरेको छ ।
‘तीमध्ये अधिकांशमा त नेतृत्वमा महिलाहरूको सहभागितामा केवल सांकेतिकमात्र भएको अनुभव पाइयो । रचनात्मक र वास्तविक सक्रियता नभई अपेक्षित समावेशिता सम्भव हुँदैन भन्ने देखियो,’ सम्पादक खड्काले भनिन्, ‘हामीले सञ्चारका विभिन्न माध्यमबाट अहिलेसम्म ३६ हजारभन्दा बढी महिलाका आवाजहरूलाई समेटिसकेका छौं ।’ महिलाहरूको अनुभवलाई सञ्चारमाध्यममा ल्याउँदा नीति निर्माणको तहमा रहेकाहरूलाई नेतृत्वमा महिलाको साँचो सहभागितामैत्री नीति निर्माणमा दबाब पुग्ने विश्वास उनको छ ।
गुणस्तरीय निर्णयसँगै सन्तुलित विकासका लागि नीतिगत सुधार र त्यसका लागि राजनीतिमा महिलाको समतामूलक सहभागिता आजको आवश्यकता हो । समाजमा आधाभन्दा बढी महिला छन् भने नेतृत्वमा सहभागिता पनि त्यसैअनुपातमा हुनु स्वाभाविक हो । निर्णय गर्ने ठाउँमा आधा जनसंख्या प्रतिनिधित्वविहीन हुन्छ भने त्यो लोकतन्त्र नै अपूर्ण हुन्छ । महिलालाई नेतृत्वमा ल्याउनु अधिकारमात्र होइन, सामाजिक न्यायको कार्यान्वयन हो भन्छिन् महिला आयोगकी पूर्व अध्यक्ष शेख चाँद तारा ।
‘राजनीति सबै नीतिहरूको नीति हो । जबसम्म राजनीतिमा महिलाको वास्तविक प्रतिनिधित्व हुँदैन, तबसम्म यसको अर्थ हुँदैन,’ संविधानसभा सदस्यसमेत रहेकी उनको अन्भव छ ।
प्रदेश र संघीय सदनमा महिलाको ३३ प्रतिशत सीट सुरक्षित गरिए पनि स्थानीय सरकारको मूल नेतृत्वमा महिलाको नेतृत्वलाई खुम्च्याइएको छ । कतिपय यस्ता लज्जाजनक उदाहरणहरू पनि छन्, वैधानिक रुपमा पदमा महिलाको उपस्थिति देखिन्छ, तर सञ्चालन तिनका पतिबाट भइरहेको हुन्छ । कान्ूनी छिद्र समातेर पैसा हुनेले श्रीमतिको नाममा टिकट लिएर सत्तामा हालीमुहाली गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ ।
महिला नेतृत्वलाई प्रोत्साहन गर्ने समाजमा मात्र लैंगिक असमानता सम्भव हुन्छ । महिला नेतृहरू प्रायः सुशासन र उत्तरदायित्वप्रति बढी संवेदनशील हुन्छन् । जसले दीर्घकालीन शान्ति र सद्भावको बाटो बनाउँछ । अनुसन्धानहरूले महिला नेतृत्व पारदर्शिता, उत्तरदायित्व र दिगोपनामा संवेदनशील हुने देखाएको छ । यस आधारमा राजनीतिदेखि निजीक्षेत्रसम्म महिलाको सशक्त भूमिकाले आर्थिक समृद्धिलाई प्रत्यक्ष योगदान पु¥याउनेमा आशावादी हुन सकिन्छ । प्रस्तुत छ, मध्य नेपाल पडकाष्टमा प्रसारित महिला नेतृत्वका अनुभवहरूको सारसंक्षेप ः















