वीरगञ्ज महानगर र राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अगुवाहरूले पर्सा र बारामा चर्कँदो खानेपानी संकट समाधानका लागि अमलेखगञ्जको भावर क्षेत्रमा पानीको स्रोत खोजी र संरक्षण सम्बन्धी स्थलगत निरीक्षण गरेका छन्।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र समितिका अध्यक्ष डा. किरण पौडेलसहितको प्राविधिक टोलीले बाराको अमलेखगञ्जस्थित कर्मकुमारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नमुना प्रविधि अध्ययन गरेका हुन्। उक्त स्थानमा भूसतहको पानीको संरक्षण गरेर हाल दैनिक २४ लाख लिटर पानी वितरण हुँदै आएको छ।
प्रमुख सिंहले वीरगञ्जमा पानीको सतह खस्कँदै जाँदा चापाकलहरू सुकेपछि समस्या गम्भीर बन्दै गएको भन्दै, "भावर क्षेत्रको भूगर्भीय संरचनालाई उपयोग गरेर वीरगञ्जमा पनि त्यस्तै प्रविधि लागू गर्न सकिन्छ कि भनेर हामी यहाँ आएका हौं," भने।
उनी भन्छन्, "माथिल्लो सतहको पानी खेर जान नदिन पोखरी, जलाशय र अन्य संरचना निर्माण गरेर पानी संचित गर्न सके जमिनमुनिको पानीको स्तर पुनः बढाउन सकिन्छ।"
उता, समितिका अध्यक्ष पौडेलले पानीको भू-भूसतहको पानी संरक्षण गरेर वीरगञ्जमा खानेपानी अभावको समाधान खोजिँदैसतह बढाउन पोखरीलगायत संरचना निर्माण जरुरी रहेको बताए। उनले वीरगञ्ज आसपासका क्षेत्रमा जलस्रोतको संवद्र्धन गर्न आवश्यक प्रविधि र स्रोतको पहिचान गर्न काम अघि बढाइने जनाए।
कर्मकुमारी उपभोक्ता समितिका अध्यक्ष नारायण लामिछाने मगरले पहिले अमलेखगञ्जमा पनि खानेपानीको अभाव रहेको तर अहिले ८२७ घरधुरीमा नियमित आपूर्ति भइरहेको जानकारी दिए। उनले करिब तीन मिटर गहिराइमा पानीको स्रोत संरक्षण गरेर ट्याङ्कीमार्फत वितरण गरिएको बताए।
इञ्जिनियर अनिल सिन्हाले भावर क्षेत्रको जलस्रोत संरक्षणमार्फत सतही पानीको स्तर बढाउन सकिने भन्दै पर्साको भेडाहा खोलाको क्षेत्रलाई सम्भाव्यता परीक्षण गरिएको जानकारी दिए।
पानी अभावको सामना गरिरहेको वीरगञ्जमा अब वातावरणमैत्री संरचना निर्माण गरेर पानीको सतह संरक्षण तथा पुनःभरण गर्न सकिने अपेक्षा गरिएको छ। निरीक्षण टोलीले वीरगञ्ज–३१ वेल्बास र भेडाहा खोलाको क्षेत्रलाई पनि सम्भावित स्रोतको रूपमा मूल्याङ्कन गरेको छ।