मधेश प्रदेशमा बढ्दो खानेपानीको संकटलाई मध्यनजर गर्दै युनिसेफ नेपाल र वीरगन्ज महानगरपालिकाले संयुक्त रूपमा जनचेतनामूलक ‘पानी बचाउ अभियान’ सुरु गरेका छन्।
नेपाल रेडक्रस सोसाइटी, नेपाल खानेपानी संस्थान, दिगो विकास स्रोत केन्द्र तथा एनजीओ सिसी लगायत चार स्थानीय संस्थाको सहकार्यमा सञ्चालनमा आएको सातदिने अभियानले पानीको बचत र जिम्मेवार प्रयोगमा विशेष जोड दिएको छ।
वर्षाको मौसममै तराई, विशेषतः मधेश प्रदेशमा देखिएको खानेपानीको विकराल समस्याको दीर्घकालीन समाधान खोज्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो। अत्यधिक प्रभावित वडाहरूमा स्वयंसेवक परिचालन गरी एक हप्ता लामो जनचेतना अभियान सञ्चालन गरिएको छ।
यस अभियानले विद्यालय तथा सामुदायिक स्तरमा पानीको महत्त्व र यसको सही प्रयोगबारे जनचेतना फैलाउने लक्ष्य राखेको छ।
विद्यालयमा व्यावहारिक तालिम
अभियानअन्तर्गत वीरगन्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय र अलपाइन स्कुलका विद्यार्थीहरूलाई दैनिक जीवनमा पानी कसरी बचत गर्ने भन्ने विषयमा व्यावहारिक तालिम प्रदान गरिएको छ। तालिम सत्रमा विशेष गरी घरेलु प्रयोगमा पानीको खपत घटाउने तरिका, वर्षा पानी संकलन, लिक भएका धाराको मर्मत, तथा पानीको पुनःप्रयोग जस्ता उपायहरूमा विशेष ध्यान दिइएको थियो।
प्रशिक्षण कार्यक्रम नेपाल रेडक्रस सोसाइटी वीरगन्ज शाखाकी वरिष्ठ सदस्य तथा समाजसेवी गुड्डी साहको नेतृत्वमा सम्पन्न भएको हो।
उक्त तालिममा नन्दनी गुप्ता र प्रिया कुश्वाहाको सहजीकरण, साथै एनजीओ सिसीका प्रतिनिधि दुलारचन प्रसाद र आनन्द यादवको सक्रिय सहभागिता रहेको थियो।
दीर्घकालीन प्रभावको अपेक्षा
कार्यक्रम आयोजकहरूले यो अभियानले विद्यार्थी र समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्। त्यसैगरी, यस्ता सचेतनामूलक कार्यक्रमहरूले दीर्घकालीन रूपमा पानीको उपयोगमा सुधार ल्याएर जलसंकटको सामना गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।
आयोजक संस्थाहरूले अभियानलाई मधेश प्रदेशका अन्य खानेपानी संकटग्रस्त जिल्लाहरूमा विस्तार गर्ने तयारी गरिरहेको जानकारी पनि दिएका छन्।