दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ। अपेक्षाभन्दा धेरै आवेदन परेपछि आयोजकले आवेदन दिएका सबैलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘मास्टर्सिङ एआई विथ इफेक्टिभ प्रम्प्ट इन्जिनियरिङ’ विषयक अनलाइन तालिममा ठूलो संख्यामा आवेदन परेको हो।
प्रतिष्ठानका अनुसार तालिमका लागि पहिलो चरणमा ४२ हजारभन्दा बढी र पुनः आवेदन खुला गरिएको अवधिमा २६ हजार ५०० भन्दा बढी आवेदन प्राप्त भएका थिए।
सुरुमा कात्तिक १८ र १९ गते चारवटा सत्र सञ्चालन गरी प्रतिसत्र ५०० जनाका दरले दुई हजार युवालाई तालिम दिने योजना बनाइएको थियो। तर, आवेदन दिनेहरूको संख्या अत्यधिक भएपछि सबैलाई सहभागी गराउने व्यवस्था मिलाइएको हो।
तालिमका लागि आवेदन दिएका व्यक्तिलाई कक्षा सुरु हुनुभन्दा दुई घण्टाअघि एसएमएसमार्फत सहभागी हुने लिंक पठाइनेछ। आवेदन फाराममा उल्लेख गरिएको नाम र मोबाइल नम्बरका आधारमा आफूले रोजेको सत्रमा सहभागी हुन सकिनेछ। सहभागीले मोबाइल फोन वा ल्यापटपबाटै तालिम लिन सक्नेछन्।
तालिममा मुख्यतः च्याटजीपीटी, क्लाउडलगायत एआई उपकरणको प्रभावकारी प्रयोग, उपयोगी प्रम्प्ट लेखन, इमेल तथा कार्यालयका कागजात तयार गर्ने, प्रस्तुति निर्माण गर्ने, तस्बिर तथा छोटा भिडियो बनाउने र एआईबाट प्राप्त जानकारीको सत्यता जाँच गर्ने विषय समेटिनेछन्।
आधारभूत तहको यो तालिमले युवालाई एआई प्रविधिसँग परिचित गराउनुका साथै दैनिक जीवन, अध्ययन, रोजगारी तथा व्यावसायिक काममा यसको प्रयोग गर्न सक्षम बनाउने उद्देश्य राखेको छ।
प्रविधिको विकाससँगै बदलिँदो श्रम बजारका लागि युवालाई तयार पार्न एआई साक्षरता विस्तार गर्ने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ।
राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप प्रालि र ज्ञान बजार अनलाइन प्रालिको सहकार्यमा उक्त तालिम सञ्चालन गर्न लागेको हो।