वीरगञ्जस्थित गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको अवसरमा तीनदिने ‘जीएसएस मोडल युनाइटेड नेसन्स (जीएसएस एमयूएन ६.०)’ कार्यक्रम सुरु भएको छ।
विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन बुधबार विद्यालयको सिनियर विङ अडिटोरियम हलमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थी जीवन व्यक्तित्व विकास, ज्ञान आर्जन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण समय भएको बताए। मोडल युनाइटेड नेसन्सजस्ता कार्यक्रमले किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान, आत्मविश्वास र आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा गौतम माध्यमिक विद्यालय, नेशनल इन्फोटेक कलेज, रोयल एकेडेमी, डीएभी स्कुल तथा काठमाडौंका विभिन्न विद्यालयका गरी करिब १४० जना विद्यार्थी सहभागी भएका छन्।
कार्यक्रमअन्तर्गत अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा केन्द्रित रहेर ६ वटा कमिटी गठन गरिएको छ। सहभागी विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै निर्धारित एजेन्डामाथि बहस, छलफल र कूटनीतिक संवादमार्फत समाधानका उपाय खोज्ने अभ्यास गरिरहेका छन्।
डीआईएसईसी कमिटीमा मध्यपूर्व तथा उत्तर अफ्रिका क्षेत्रमा देखिएको राजनीतिक तथा सुरक्षा अस्थिरताबारे छलफल भइरहेको छ। एफयूएनएससी कमिटीमा रणनीतिक पहिलो प्रहार प्रतिरोधात्मक सुरक्षा हो वा आक्रमण भन्ने विषयलाई बहसको एजेन्डा बनाइएको छ।
त्यसैगरी, यूएन वुमन कमिटीमा महिला तथा किशोरीहरूको मानव बेचबिखन र यौन शोषण रोकथामका उपायबारे छलफल भइरहेको छ। यूएनएचआरसी कमिटीमा शान्तिपूर्ण विरोध प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता, डिजिटल अभिव्यक्ति तथा राष्ट्रिय सुरक्षाका नाममा असहमतिका आवाज दबाउने प्रवृत्तिबारे बहस भइरहेको छ।
इकोफिन कमिटीमा सार्वभौम ऋणका चुनौती सम्बोधन तथा विश्वव्यापी वित्तीय स्थायित्वका लागि अन्तर्राष्ट्रिय सहयोग सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ। त्यस्तै, इन्टरनेसनल प्रेस कमिटीमा विभिन्न समसामयिक विषयमा छलफल तथा सञ्चारसम्बन्धी अभ्यास सञ्चालन गरिएको छ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंह, डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा, मधेश मिडिया काउन्सिलका सदस्य निरज पिठाकोटे मगर तथा देश मधेश डटकमका सञ्चारकर्मी अभिलाष गुप्तालगायतको उपस्थिति रहेको थियो।
विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौरज प्रधान, एल्भिन रेन्जर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता तथा रोयल एकेडेमीका भाइस प्रेसिडेन्ट सुमन श्रेष्ठलगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको सहभागिता रहेको थियो।
विद्यालयका निर्देशक सोनम लामाका अनुसार विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति तथा विश्वव्यापी समस्याको समाधान खोज्ने सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा र विचार प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै आत्मविश्वास, सहकार्य र निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने उनले बताए।
कार्यक्रममा विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा पिया लामा र निर्देशक सोनम लामाको विशेष उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा विद्यार्थीहरूले स्वागत नृत्यसमेत प्रस्तुत गरेका थिए।
विद्यालयको स्वर्ण जयन्ती वर्षलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले आयोजित कार्यक्रमले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको बहस, अनुसन्धान र कूटनीतिक अभ्यासको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको विद्यालयले जनाएको छ।