तेलङ्गानाको सांगारेड्डी जिल्लास्थित पाश्यमायलारम औद्योगिक क्षेत्रमा रहेको एक औषधि उत्पादन कम्पनीमा सोमबार बिहान भएको भीषण विस्फोटमा परी हालसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने अझै उद्धार कार्य जारी रहेकोले मृतक संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
कम्पनीका कर्मचारी हावामा उछिट्टिएर सय मिटर पर खसे
घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार विस्फोटको प्रभाव यति शक्तिशाली थियो कि कामदारहरू हावामा उछिट्टिएर सय मिटर टाढासम्म खसेका थिए। कारखानाको मुख्य संरचना पूर्ण रूपमा ध्वस्त भएको र आगोले छेउछाउका अन्य भवनहरूलाई पनि समातेको पुष्टि गरिएको छ।
विस्फोटको समयमा करिब ९० कर्मचारी कार्यरत
तेलङ्गानाका स्वास्थ्य मन्त्री दामोदर राजनारसिंहले पत्रकारहरूलाई जानकारी दिँदै उक्त समय करिब ९० जना कर्मचारी काममा रहेको बताए। उनले भने, “विस्फोटले सम्पूर्ण औद्योगिक सेड उडाइदियो र केही कामदारहरू हावामा उछिट्टिएर सय मिटर पर खसेका छन्।”
सुरक्षा मापदण्डमा लापरबाहीको आरोप
घटनास्थलमा पुगेका पटन्चेरूका विधायक महिपाल रेड्डीले कम्पनीले कुनै सुरक्षा उपाय नअपनाएको आरोप लगाएका छन्। उनले भने, “कम्पनी सुरक्षा सावधानी विना सञ्चालनमा छ। धेरैले ज्यान गुमाएका छन् र धेरै घाइते भएका छन्। व्यवस्थापनले वास्तविक मृत्यु संख्या लुकाएको आशंका छ।”
के भयो घटना?
तेलङ्गाना राज्य विपद् प्रतिकार्य तथा दमकल सेवा विभागका महानिर्देशक वाई नागी रेड्डीका अनुसार घटनाको समयमा माइक्रोक्रिस्टालिन सेल्युलोज (MCC) को ‘एयर ह्यान्डलिङ’ वा ‘ड्राइङ’ प्रक्रियाका क्रममा विस्फोट भएको अनुमान गरिएको छ। “ठ्याक्कै कति मानिस मलुवामुनि छन् भन्ने अझै थाहा पाइएको छैन,” उनले बताए।
विस्फोट बिहान ९:२० बजे सिगाची इन्डस्ट्रीज लिमिटेडको उत्पादन युनिटमा भएको हो। उक्त कम्पनी औषधि निर्माणका लागि प्रयोग हुने MCC, खाद्य सामग्री तथा सौन्दर्यजन्य उत्पादनको प्रमुख उत्पादक हो।
३ महिनाका लागि उत्पादन स्थगित
कम्पनीले घटना लगत्तै शेयर बजारमा दिएको जानकारी अनुसार हैदरावादस्थित उक्त प्लान्टबाट आगामी ९० दिनसम्म उत्पादन बन्द रहनेछ। “घटनामा जनधनको क्षति हुनुका साथै केही उपकरण र संरचनामा पनि क्षति पुगेको छ,” कम्पनीले भनेको छ।
सिगाची इन्डस्ट्रीजसँग हाल ३ वटा MCC उत्पादन युनिट छन्। तीमध्ये हैदरावादको प्लान्टबाट वार्षिक ६,००० मेट्रिक टन उत्पादन हुँदै आएको छ, जुन कुल २१,७०० मेट्रिक टन उत्पादन क्षमताको एक हिस्सा हो। बाँकी उत्पादन गुजरातका दुई अन्य युनिटबाट हुन्छ।
स्थानीय बासिन्दामा त्रास, सर्वसाधारणको उद्दार सुरु
विस्फोटपछि बाक्लो धुवाँ फैलिँदा स्थानीय बासिन्दाले श्वासप्रश्वासमा कठिनाइ महसुस गरेका छन्। प्रशासनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने कार्य सुरु गरिसकेको छ।