मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । दुर्घटनास्थलबाट थप तीन जनाको शव फेला परेसँगै मृतकको संख्या १४ पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा मृत्यु भएका सबैको पहिचान खुलेको छ । मृतकमध्ये पाँच जना महिला तथा बालबालिका र नौ जना पुरुष रहेका छन् । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार मृतकमध्ये सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १३ जना रहेका छन् ।
यसअघि ११ जनाको पहिचान खुलेकोमा थप तीन जनाको सनाखत भएसँगै मृतक सबैको पहिचान खुलेको हो । यसअघि पहिचान खुलेका मृतकमा २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका यादव, १० वर्षीया अनु कुमारी यादव, ३५/३६ वर्षीय गुड्डु यादव, ३०/३२ वर्षीया गायत्री देवी, २५/२६ वर्षीय रामदुलार यादव, २४/२५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।
दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षम कुमार यादव, ३ वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भनिने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदिप यादव रहेका छन् ।
घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको छ ।
काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको ईभी हाइस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको गाडीमा सवार यात्रुहरू दुर्घटनामा परेका थिए ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो ।