मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा १४ जनाको ज्यान जाने गरी भएको ईभी हाइस दुर्घटनाको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय समिति गठन गर्ने भएको छ ।
दुर्घटनाको वास्तविक कारण पत्ता लगाउनुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपाय पहिचान गर्ने उद्देश्यले प्रशासनले छानबिन समिति गठन गर्न लागेको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने समितिमा जिल्ला ट्राफिक प्रहरी प्रमुख, नेपाल प्रहरीका एक प्रहरी निरीक्षक, बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य रहनेछन् ।
समितिलाई घटनाको स्थलगत अध्ययन तथा अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइनेछ । यसका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाइने अधिकारीले जानकारी दिए ।
प्रारम्भिक जानकारीअनुसार काठमाडौंबाट बिहान २ बजे छुटेको उक्त ईभी हाइस बिहान ५:१५ बजे देउराली पुगेको थियो । त्यसको करिब ३० मिनेटपछि बिहान ५:४५ बजे चिसापानी ओरालोमा गाडी सडकबाट तल खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर बस्तीका छन् । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जनालाई थप उपचारका लागि चितवन र काठमाडौंका अस्पतालमा पठाइएको छ भने बाँकीको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी अधिकारीले प्रारम्भिक अध्ययनमा चालक र सवारीसाधन दुवैले पर्याप्त विश्राम नपाएको देखिएको बताएका छन् । राति अबेर काठमाडौं पुगेको सवारीसाधनले पर्याप्त विश्राम नगरी तत्कालै यात्रु लिएर फर्किनु, तीव्र गति, क्षमताभन्दा बढी यात्रु राख्नु र चालकको थकान दुर्घटनाका सम्भावित कारण हुन सक्ने उनले औँल्याएका छन् ।
'मान्छेलाई मात्र होइन, सवारीसाधन र इन्जिनलाई पनि निश्चित समयको विश्राम चाहिन्छ,' अधिकारीले भने, 'काठमाडौं पुगेपछि तत्कालै फर्किने र चालकले मोबाइलमा कुरा गर्दै सवारी चलाउनेजस्ता लापरबाही पनि देखिएका छन् ।'
चालकले ट्राफिक नियमविपरीत गतिविधि गरेको देखिए यात्रुले समेत प्रश्न गर्ने र खबरदारी गर्ने संस्कार विकास गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले टिकट काउन्टरमै यात्रुको नाम र ठेगानासहितको विवरण राख्नुपर्ने व्यवस्था गरे पनि यातायात व्यवसायीले त्यसको पालना नगरेको अधिकारीले बताए । यात्रुको विवरण व्यवस्थित नहुँदा दुर्घटनापछि मृतकको पहिचान खुलाउन र आफन्तसम्म सूचना पुर्याउन कठिनाइ हुने गरेको उनले उल्लेख गरे ।
दुर्घटना न्यूनीकरणका लागि मकवानपुरमा अभ्यासका रूपमा लागू गरिएको 'टाइम कार्ड' प्रणालीलाई काठमाडौंदेखि नै व्यवस्थित र अनिवार्य रूपमा कार्यान्वयन गर्नुपर्नेमा पनि उनले जोड दिएका छन् ।
भीमफेदी–देउराली सडकखण्ड दुर्घटनाका दृष्टिले संवेदनशील बन्दै गएको उल्लेख गर्दै अधिकारीले सडकको अवस्था, सुरक्षा पूर्वाधार, ट्राफिक सङ्केत, रोड फर्निचर तथा सम्बन्धित निकायको जिम्मेवारीबारे समेत समितिले अध्ययन गर्ने बताए । समितिको प्रतिवेदनका आधारमा थप आवश्यक कदम चालिने प्रशासनले जनाएको छ ।