दक्षिण कोलकातास्थित एक कानुन कलेजको परिसरभित्र एक विद्यार्थीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पीडित महिलाको उजुरीका आधारमा उनीहरूलाई बिहीबार पक्राउ गरिएको हो।
पक्राउ परेका मध्ये एक जना आरोपी मनोजित मिश्राले पीडितलाई जबरजस्ती कलेजको सुरक्षा कक्ष (गार्डरूम)मा लगेर बलात्कार गरेका थिए भने बाँकी दुई जनाले घटनामा साथ दिएको बताइएको छ। घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
घटना जुन २५ तारिख साँझ ७:३० बजेदेखि ८:५० बजेसम्मको समयमा भएको पीडितले बताएकी छन्। उनले पूर्व विद्यार्थी रहेका मिश्राले आफूलाई जबरजस्ती गरेर गार्डरूममा लगेर बलात्कार गरेको बताइन्। घटनापछि प्रहरीले गार्डरूम सिल गरेको छ र आरोपीहरूको मोबाइल फोनसमेत बरामद गरिएको छ।
मुख्य आरोपी मिश्राको सामाजिक सञ्जालमा रहेको विवरण अनुसार उनी अघिल्लो समयमा अखिल भारतीय तृणमूल कांग्रेस (टीएमसी) को विद्यार्थी संगठनको अध्यक्ष रहेको र अहिले अलिपुर अदालतमा क्रिमिनल वकिलका रूपमा कार्यरत छन्।
तीनै आरोपीहरूलाई शुक्रबार अदालतमा पेश गरिने बताइएको छ। घटनास्थलमा वरिष्ठ प्रहरी अधिकृत र फरेन्सिक विज्ञहरूले पुगेर प्रमाण संकलन गरेका छन्।
यस घटनाले राज्यमा महिला सुरक्षाको विषयमा पुनः प्रश्न उठाएको छ। पश्चिम बंगालका प्रतिपक्षी नेता सुवेन्दु अधिकारीले राज्य सरकारमाथि आक्रोश व्यक्त गर्दै भने, “यो राज्यमा जे पनि हुन सक्छ। गत वर्ष आरजी कर मेडिकल कलेजमा एक जुनियर डाक्टरमाथि बलात्कार गरी हत्या गरिएको थियो। महिलाहरू यहाँ सुरक्षित छैनन्। मुख्यमन्त्री अहिले पनि यसलाई सामान्य घटना भन्दै पीडितलाई पैसा दिएर टार्ने प्रयास गर्नेछिन्। उनले राजीनामा दिनु पर्छ।”
उनको उक्त आरोपको जवाफ दिँदै टीएमसी प्रवक्ता जय प्रकाश मजुमदारले भने, “यस्ता सामाजिक विकृतिविरुद्ध सबै मिलेर लड्नु पर्नेमा प्रतिपक्षी नेता राजनीतिक लाभ लिने प्रयास गर्दैछन्, जुन दुर्भाग्यपूर्ण हो।”
टीएमसी विद्यार्थी संगठन (टीएमसीपी) का प्रदेश अध्यक्ष त्रिणांकर भट्टाचार्यले भने, “अपराधीलाई कडा भन्दा कडा सजाय दिनुपर्छ। आरोपी विगतमा टीएमसीपीसँग जोडिएका भए पनि उनले कुनै महत्वपूर्ण जिम्मेवारी सम्हालेका थिएनन्। यस्तो व्यक्तिगत अपराधको जिम्मेवारी संगठनको होइन।”
उक्त घटना एक वर्षअघि कोलकाताको आरजी कर मेडिकल कलेजमा एक पोस्ट ग्राजुएट मेडिकल प्रशिक्षार्थीमाथि भएको बलात्कार र हत्यापछि आएको हो। सो घटनामा संलग्न कोलकाता प्रहरीले खटाएको ३३ वर्षीय सञ्जय रॉयलाई दोषी ठहर गरी आजीवन कारावासको सजाय सुनाइएको थियो।