अहमदाबादमा बिहीबार भएको भीषण एयर इन्डिया विमान दुर्घटनामा २४१ जनाको ज्यान गएको छ भने मात्र एक जना यात्रु जीवित रहेका छन्। दुर्घटनाबाट चमत्कारिक रूपमा बाँच्न सफल ती एकमात्र व्यक्ति हुन्– भारत मूलका बेलायती नागरिक विश्वास कुमार रमेश । उनले शुक्रबार बिहान पहिलोपटक मिडियासँग संवाद गर्दै आफ्नो भयावह अनुभव साझा गरेका हुन्।
विश्वास कुमार अहिले अहमदाबाद सिभिल अस्पतालमा उपचाररत छन्। डीडी न्युजसँगको कुराकानीमा उनले दुर्घटनाका क्षणहरू सम्झिँदै भने, "म अझै पनि विश्वास गर्न सक्दिन कि म कसरी बाँचें। एकछिन त लाग्यो कि म पनि मर्नेवाला थिएँ। जब म होसमा आएँ र वरिपरि हेरेँ, म बाँचिरहेको थिएँ।"
३३ सेकेन्डमै विमान दुर्घटना
एयर इन्डिया विमानले २३० यात्रु र १२ जना चालक दलसहित उडान भरेको थियो। उडानपछि जम्मा ३३ सेकेन्डभित्रै विमान मेघाणी नगर क्षेत्रमा घरहरूमा ठोक्किएको थियो। विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगीज र १ क्यानाडाली नागरिक सवार थिए।
विश्वास कुमार विमानको ११ए नम्बर सिटमा, आपतकालीन निस्किने ढोकानजिकैको झ्यालछेउ बसेका थिए। उनले भने, “५ देखि १० सेकेन्ड भित्रै विमान आकाशमा अड्किएको जस्तो लाग्यो। अचानक हरियो र सेतो बत्ती झिमिक्क गर्न थाल्यो अनि विमान एक भवनमा ठोक्कियो।”
दुर्घटनामा जीवित बच्न सफल
उनले भने अनुसार, विमानको बाँया भाग – जहाँ उनी बसेका थिए – त्यो भाग जमिनमै अडिएर टेको लागेको थियो, जसले गर्दा उनी बाहिर निस्कन सफल भए। “निस्कने बाटो देखें, प्रयास गरेँ र निस्किएँ। सायद अर्को भागका मानिसहरू त्यस्तो अवसर पाउन सकेनन्,” उनले दुःखी हुँदै भने।
दुर्घटनापछि लागेको आगोमा उनको बायाँ हात पोलेको छ। “आँखा अगाडि मैले दुई जना र एयर होस्टेसलाई मर्दै गरेको देखेँ। म भग्नावशेषबाट बाहिर निस्किएँ,” विश्वासले भक्कानिँदै सुनाए।
प्रधानमन्त्री मोदीको अस्पताल भ्रमण
शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद सिभिल अस्पताल पुगेर विश्वास कुमारसहित घाइतेहरूको अवस्था बुझेका थिए। प्रधानमन्त्रीले विश्वाससँग कुराकानी गर्दै घटनाबारे जानकारी लिएको विश्वासले बताए। “प्रधानमन्त्रीले मेरो स्वास्थ्य र दुर्घटनाबारे सोध्नुभयो। मैले भनेँ कि म अहिले ठीक छु,” उनले भने।
प्रधानमन्त्री मोदीले घटनास्थल पनि अवलोकन गरेका थिए र अहमदाबाद विमानस्थलमा उच्च अधिकारीहरूसँग बैठक गरी उद्दार तथा अनुसन्धानको प्रगति बारे समीक्षा गरेका थिए।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल 'X' मा लेखेका छन्, “अहमदाबादको विमान दुर्घटनास्थलको निरीक्षण गरेँ। यो त्रासदीको दृश्य हृदयविदारक छ। उद्धारमा खटिएका टोलीहरूसँग भेटघाट गरें। मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दछु।”
अर्को पोस्टमा उनले लेखेका छन्, “अहमदाबादको वायु दुर्घटनाबाट हामी सबै स्तब्ध छौं। यति ठूलो संख्यामा मानिसहरूको ज्यान गएकाे यो पीडा शब्दमा बयान गर्न सकिन्न। पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दछु।”
प्रधानमन्त्रीसँगै गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल, केन्द्रीय नागरिक उड्डयन मन्त्री राम मोहन नायडु किन्जारापु, केन्द्रीय राज्यमन्त्री मुरलीधर मोहोल र गृहमन्त्री हर्ष सङ्घवी पनि थिए।