गुजरात राज्यको अहमदाबादस्थित मेघानीनगर क्षेत्रमा बिहीबार दिउँसो एयर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान दुर्घटनामा परेको छ। स्थानीय समयअनुसार दिउँसो करिब १:४० बजे टेकअफ गरेलगत्तै विमान दुर्घटनाग्रस्त भएको हो। उक्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सबैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ।
टेकअफकै क्रममा भयानक दुर्घटना
एयर इन्डियाको फ्लाइट AI171 ले सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट लन्डनको ग्याटविकतर्फ उडान भर्ने क्रममा विमानस्थलको सीमा नजिकको भवन वा पर्खालमा ठोक्किएको प्रारम्भिक रिपोर्ट छ। टेकअफ गरेपछि केही मिनेटमै विमान ध्वस्त भएको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
आगलागी, धुवाँ र उद्धार प्रयास
दुर्घटनापछि विमानमा भीषण आगलागी भएको छ। सार्वजनिक भएका दृश्यहरूमा बाक्लो कालो धुवाँ आकाशमा फैलिएर टाढाबाटै देखिएको छ। विमानका टुक्रा–टुक्रा भएको देखिन्छ भने एक पंख भुइँमा झरेको छ। दमकलकर्मीहरू घटनास्थलमा खटिइ आगो नियन्त्रण गर्ने प्रयासमा छन्। अहिले केही मात्रामा आगो नियन्त्रणमा आएको बताइएको छ।
अस्पताल तयारी अवस्थामा, चिकित्सकहरूको बिदा रद्द
विमानस्थल नजिकै रहेको अहमदाबाद सिभिल अस्पतालका सबै डाक्टरहरूको बिदा रद्द गरिएको छ। सम्भावित घाइतेहरूलाई उपचारका लागि तयारी अवस्थामा राखिएको अधिकारीहरूले जनाएका छन्।
घटनास्थलमा त्रासको वातावरण
विमान खसेको आसपासको क्षेत्रमा अत्यन्त अफरातफरी मच्चिएको छ। स्थानीय बासिन्दाहरू डरत्रासमा भागिरहेका छन्। विमान खस्दा छेउको एउटा भवनमा समेत क्षति पुगेको छ। विमान पूर्णरूपमा जलेर नष्ट भएको पुष्टि प्रारम्भिक रिपोर्टहरूले गरेका छन्।
भारतका गृहमन्त्री अमित शाहले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गुजरात सरकारलाई आवश्यक सबै केन्द्रीय सहायता उपलब्ध गराइने बताएका छन्।
थप विवरणको प्रतीक्षा
हालसम्म उद्धार कार्य जारी रहेको छ भने घटनाको विस्तृत विवरण आउने क्रम जारी छ। एयर इन्डियाले पनि घटनाबारे छानबिन थालिएको र अद्यावधिक जानकारी चाँडै सार्वजनिक गरिने जनाएको छ।