हास्यकलाकार कपिल शर्माको चर्चित कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजन दर्शकलाई मनोरञ्जन दिन पुनः तयार भएको छ। कपिल शर्माले हालै यस सिजनमा नवजोत सिंह सिद्धूको पुनरागमनको घोषणा गरेसँगै सलमान खान पनि पाहुनाका रूपमा देखिने पक्का भइसकेको छ। अब भारतीय क्रिकेटर युजवेन्द्र चहलले समेत कार्यक्रममा सहभागी हुने पुष्टि गरेका छन्।
क्रिकेटरहरूको सेटमा जमघट
सोमबार युजवेन्द्र चहलले इन्स्टाग्राममार्फत नवजोत सिंह सिद्धू र कपिल शर्मासँगको तस्बिर सार्वजनिक गर्दै शोमा सहभागी हुने जानकारी दिएका हुन्। उनले सेयर गरेका अन्य तस्वीरहरूमा गौतम गम्भीर, ऋषभ पन्त र अभिषेक शर्मा पनि देखिएका छन्। चहलले पोस्टमा लेखेका छन्, "@ The Kapil Sharma Show"।
फ्यानहरू क्रिकेटरहरूलाई शोमा देख्दा निकै उत्साहित भएका छन्। एक फ्यानले लेखे, “हामीले कपिल शर्मा शोमा GTA 5 भन्दा पहिला गौतम गम्भीर देख्यौं।” अर्कोले लेखे, “हेर्नुहोस् त GG र यूजी कस्तो देखिएका छन्।” अर्को टिप्पणीमा भनिएको छ, “यो एपिसोड धमाकेदार हुने पक्का छ।” केही फ्यानहरूले श्रेयस अय्यरलाई मिस गर्दै सोधे, “सरपञ्च साब कहाँ हुनुहुन्छ?”
सलमान खान पहिलो एपिसोडका अतिथि
यसअघि नवजोत सिंह सिद्धूले पनि सेटबाट सलमान खानसँगका बिहाइन्ड द सीन तस्बिरहरू सेयर गर्दै सलमान पहिलो एपिसोडका पाहुना हुने पुष्टि गरेका थिए। तस्बिरमा सलमान खान 'Being Human' को टिसर्ट र फेडेड जिन्स लगाएको अवतारमा देखिएका थिए। सिद्धूले फोटो सेयर गर्दै लेखेका थिए, “सुल्तान अफ सुल्तान्स, द ग्रेट खानसँग।”
कार्यक्रमबारे जानकारी
द ग्रेट इन्डियन कपिल शो हास्य र कुराकानी कार्यक्रम हो, जसको सञ्चालन कपिल शर्माले गर्छन्। शोमा कृष्णा अभिषेक, सुनिल ग्रोवर, किकु शारदा र अर्चना पुरण सिंह पनि रहेका छन्। पहिलो सिजनमा रणबीर कपूर, रोहित शर्मा, श्रेयस अय्यर, आमिर खान र सनी देओल जस्ता अतिथिहरू देखिएका थिए। दोस्रो सिजनमा आलिया भट्ट, करण जोहर, सैफ अली खान, जूनियर एनटीआर, करिना कपुर र करिश्मा कपुर सहभागी थिए।
तेस्रो सिजन आगामी जुन २१ देखि नेटफ्लिक्समा प्रसारण हुने पक्का भएको छ। दर्शकहरू यस सिजनमा हास्य, रमाइलो र स्टारहरूको जमघटको आनन्द लिन उत्साहित देखिएका छन्।