हास्यका राजा कपिल शर्माको लोकप्रिय शो ‘द ग्रेट इन्डियन कपिल शो’ मा चर्चित कमेडियन, पूर्व क्रिकेटर र राजनीतिज्ञ नवजोत सिंह सिद्धु पुनरागमन गर्दैछन्। सिद्धु अब ‘स्थायी पाहुना’को रूपमा देखिने भएपछि अर्चना पुरण सिंहले आफ्नो निर्णायकको सिट बाँड्नुपर्ने भएको छ।
सिद्धु यसपटक नेटफ्लिक्सको प्लेटफर्ममा पहिलोपटक देखिँदैछन्, यद्यपि उनी पहिले कपिल शर्माको ‘कमेडी नाइट्स विथ कपिल’ मा प्रमुख अनुहार भइसकेका थिए। नेटफ्लिक्सले सार्वजनिक गरेको प्रोमोमा कपिलले अर्चनालाई ‘विशाल सरप्राइज’ दिन खोज्दा उनी छक्क पर्छिन्, सिद्धु फर्किएको देखेपछि उनी झन अचम्ममा पर्छिन्। कपिलले मजाक गर्दै भने, “अब सिद्धुजीले तपाईंलाई बोल्न पनि नदेलान्!”
सिद्धुले भने आफ्नो ट्रेडमार्क शैलीमा शायरी छाँट्दै शोमा रमाइलो सुरुवातको संकेत दिएका छन्।
कपिल र सिद्धुको प्रतिक्रिया
कपिल शर्माले भने, “हरेक ‘फन्नीवार’ हाम्रो परिवार बढ्ने वाचा गरेका थियौं। सिद्धु पाजीलाई अर्चना जूसँगै पाउँदा निकै उत्साहित छु। यो सिजनमा हाँसो र मजाक दुबै ट्रिपल हुनेछ!”
सिद्धुले भावुक हुँदै भने, “यो शोमा फर्कनु भनेको घर फर्कनुजस्तै हो। दर्शकहरूको माया र चाहनाले मलाई यहाँ ल्याएको हो। नेटफ्लिक्सले फेरि हामीलाई एउटै मञ्चमा ल्याएर संसारभरका दर्शकको मुहारमा हाँसो फुकाउने मौका दिएकोमा म गर्व गर्छु।”
उनको शायरी:
गुरु, हमने मिलकर ये आशियाना सजाया है,
गुज़रा ज़माना फिर से लौट के आया है!
मैं यूं ही नहीं पहुंचा हूं यहां पर दोबारा,
मुझे खींच कर जनता का प्यार लाया है।
को–को छन् यसपटक?
यस सिजनमा पनि कपिलसँगै सुनिल ग्रोवर, कृष्णा अभिषेक र किकु शारदा शोमा धमाका मच्चाउँदै फर्कंदैछन्।
‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजन यही जुन २१ (आइतबार) देखि नेटफ्लिक्समा प्रसारण हुनेछ।