आइपीएलको पहिलो उपाधि जितेको खुसीयाली मनाउन हजारौं समर्थक जम्मा भएका बेला बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियम बाहिर बुधबार साँझ भएको भागदौड (स्टाम्पिड) मा ११ जनाको ज्यान गएको छ भने ३० भन्दा बढी घाइते भएका छन्।
भीड नियन्त्रणबाहिर
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैय्याका अनुसार, चिन्नास्वामी स्टेडियमको क्षमता ३५,००० भए पनि २ देखि ३ लाख मानिस समारोहमा उपस्थित भएका थिए। उनले भने, “खेल मंगलबार सम्पन्न भएको थियो, र बुधबार क्रिकेट सङ्घले विजय समारोह आयोजना गरेको थियो। यति ठूलो भिड हुने कसैले अपेक्षा गरेको थिएन।”
मुख्यमन्त्रीका अनुसार, “सानो गेट भएकोले भिड एकैचोटी गेटमा आउँदा त्यसलाई भत्काएर छिर्न खोज्दा भागदौड भएको हो।” उपमुख्यमन्त्री डी.के. शिवकुमारले पनि भिड ‘अत्यधिक नियन्त्रणबाहिर’ भएको भन्दै चिन्ता व्यक्त गरे।
प्रहरी निरीह
एक वरिष्ठ प्रहरी अधिकृतले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा भने, “हामीले बल प्रयोग गरेर भिडलाई नियन्त्रणमा राख्न प्रयास गर्यौं, तर संख्यामा निकै बढी भिड थियो।” प्रहरीका अनुसार, करिब ५०,००० जना स्टेडियम वरिपरि जम्मा भएका थिए र गेटमा चढ्न तथा बार पार गर्न खोज्दा भागदौड सुरु भएको हो।
प्रहरीले ३:३० बजे सबै गेटहरू बन्द गरेका थिए, त्यसपछि मुख्यत: गेट ३, गेट १२, र गेट १८ मा ठूलो दबाबका कारण मान्छेहरू एकअर्कामाथि चढ्न थाले र भागदौड भयो।
समारोहबारे अन्योल र निःशुल्क पासको अफवाह
बिहान बेंगलुरु ट्राफिक प्रहरीले परेड नहुने र केवल स्टेडियमभित्र उत्सव हुने जानकारी दिएको थियो। तर दिउँसो ३:१४ बजे आरसीबी व्यवस्थापनले सामाजिक सञ्जालमार्फत ५ बजे परेड र त्यसपछि स्टेडियम कार्यक्रम हुने तथा सीमित निःशुल्क पास वितरण गरिने जानकारी गरायो।
यसले ठूलो भ्रम सृजना गर्यो। धेरै समर्थक टिकट विना नै स्टेडियम पुगे, कसैले पास पाइने आशामा गेटमा भीड गरे। एक प्रशंसक, राकेश प्रकाशले भने, “बिहान भनिएको थियो कि पास किन्न पाइन्छ, पछि भनियो स्टेडियममै वितरण हुन्छ। त्यसैले धेरैजना त्यहाँ पुगे।”
दुर्घटनाको समयक्रम (टाइमलाइन)
२:०० बजे – स्टेडियम वरिपरि ठूलो भिड जम्मा हुन थाल्यो।
३:०० बजे – स्टेडियम पूर्ण भरियो र गेटहरू बन्द गरियो।
३:००–३:३० बजे – गेटमा भीडको दबाब बढेपछि भागदौड सुरु भयो।
३:३० बजे – दर्जनौं मानिस किचिए, घाइते भए।
४:३० बजे – करिब १ लाख समर्थकले विदान सौध नजिक आरसीबी टोलीलाई स्वागत गरे।
५:३० बजे – आरसीबी टोली स्टेडियम पुग्यो, भीड अझै नियन्त्रणमा थिएन।
६:३० बजेपछि – दुई जनाको मृत्यु पुष्टि भयो, रातभरिको उद्धारपछि मृतक संख्या ११ पुग्यो, ४७ जना घाइते भए।
छानबिनको आदेश
राज्य सरकारले घटनाबारे पूर्ण छानबिन गर्न आदेश दिएको छ। प्रहरी, स्थानीय प्रशासन, र आयोजकबीच समन्वयको कमीले यस्तो दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।
यो दुःखद घटनाले उत्सवलाई शोकमा बदलिदिएको छ। अधिकारीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएका छन्।