श्रेयस अय्यरको अविजित ८७ रनको तूफानी पारीको मद्दतमा पञ्जाब किङ्सले मुम्बई इन्डियन्सलाई पाँच विकेटले पराजित गर्दै ११ वर्षपछि पहिलो पटक आइपिएलको फाइनलमा प्रवेश गरेको छ।
२०४ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको पञ्जाबका कप्तान अय्यरले मात्र ४१ बलमा आठ छक्का प्रहार गर्दै टोलीलाई एक ओभर बाँकी छँदै जित दिलाए। उनले अन्तिम क्षणमा अश्वनी कुमारको बलमा सानदार छक्का प्रहार गर्दै टोलीलाई ऐतिहासिक जित दिलाएका हुन्।
वर्षाका कारण दुई घण्टा ढिलो सुरु भएको खेलमा मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर २०३ रन बनाएको थियो। मुम्बईका तर्फबाट तिलक वर्मा र सूर्यकुमार यादवले समान ४४ रन तथा जोनी बेयरस्टोले २४ बलमा ३८ रनको योगदान दिए।
अब पञ्जाब किङ्सले मंगलबार फाइनलमा रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्नेछ। दुबै टोलीले अहिलेसम्म आइपिएल उपाधि जितेका छैनन्, जसले गर्दा यसपटक नयाँ च्याम्पियनको उदय हुने निश्चित छ।
श्रेयस अय्यर ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले भने, "म ठूलो मञ्चको खेलहरूमा खेल्न रुचाउँछु। यस्तो अवसरमा जति शान्त रहन सकिन्छ, त्यति नै ठूला नतिजा आउँछन् भन्ने मैले टिमलाई सधैं सम्झाइरहन्छु।"
पञ्जाबले टस जितेर फिल्डिङ रोजेपछि वर्षाका कारणा अवरोध आए पनि कुनै ओभर घटाइएको थिएन। खेल सुरु भएपछि अष्ट्रेलियाली अलराउन्डर मार्कस स्टोइनिसले रोहित शर्मालाई ८ रनमै आउट गर्दै मुम्बईलाई शुरुआती झटका दिए।
वर्मा र बेयरस्टोबीच ५१ रनको साझेदारी तथा त्यसपछि वर्मा र सूर्यकुमारबीच ७२ रनको साझेदारीले मुम्बईलाई बलियो स्थिति दिएको थियो। तर दुबै ब्याट्सम्यान तीन बलको अन्तरमा आउट भएपछि मुम्बईको स्कोर दबाबमा आयो। अन्तिमतिर नमन धीरले १८ बलमा ३७ रन बनाएर टिमलाई चुनौतीपूर्ण योगफलमा पुर्याए।
श्रेयसको विस्फोटक समापन
जवाफी पारीमा अष्ट्रेलियाका विकेटकीपर जोश इंगलिसले २१ बलमा ३८ रन बनाउँदै उत्कृष्ट सुरुआत दिलाए, जसमा उनले जसप्रीत बुमराहको एक ओभरमा २० रन बटुले। तर मुम्बईले कप्तान हार्दिक पाण्ड्याको बलमा इंगलिसलाई आउट गरेपछि खेल फन्को मार्न थालेकाे थियाे ।
नेहाल वढेराको ४८ रनको पारी समाप्त भएपछि पञ्जाबलाई २६ बलमा ४८ रन चाहिएको थियो। त्यही बेला श्रेयस अय्यरले जिम्मेवारी लिँदै १९ औं ओभरमा चार छक्का प्रहार गर्दै खेल आफ्नो पक्षमा ल्याए।
यो फाइनल आइपिएल २०२४ को पहिलो क्वालिफायरको दोहोरिनेजस्तो हुनेछ, जसमा बेंगलोरले पञ्जाबलाई आठ विकेटले हराएको थियो।
समूह चरणमा दुबै टोलीले १९ अंक बटुलेका थिए, तर नेट रन रेटका आधारमा पञ्जाब शीर्ष स्थानमा रहेको थियो।
पञ्जाब किङ्सले यसअघि सन् २०१४ मा मात्र एकपटक फाइनल खेलेको थियो, जुन उनीहरू कोलकाता नाइट राइडर्ससँग पराजित भएका थिए। उता बेंगलोर तीनपटक फाइनल खेले पनि (२००९, २०११, २०१६) उपाधि जित्न सकेको छैन।