अत्यधिक विद्युत् खपत तथा नियमित महसुल भुक्तानीका आधारमा नेपाल विद्युत् प्राधिकरणले देशभरिका शीर्ष महत्त्वपूर्ण उपभोक्ताहरूको नाम सार्वजनिक गरेको छ।
प्राधिकरणका अनुसार सातै प्रदेशबाट १०/१० गरी ७० र केन्द्रबाट छानिएका थप १० गरी कुल ८० प्रमुख उपभोक्ताको नाम आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरिएको हो। यसरी छनोट गरिएका ग्राहकलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखी सेवा प्रदान गर्ने जनाएको छ।
देशभरिका टप टेन विद्युत् खपतकर्ता कम्पनीहरूमा सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्रालि, आरती स्ट्रिप्स प्रालि, प्रिमियर स्टिल प्रालि, श्री स्टिल्स प्रालि, होङ्सी शिवम् सिमेन्ट प्रालि, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स प्रालि परेका छन्।
प्राधिकरणले यस्तो पहिचानबाट उत्कृष्ट ग्राहकलाई छिटो, चुस्त र भरपर्दो सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। साथै, प्रदेशस्तरका ग्राहकलाई प्रदेशमै र केन्द्रस्तरका ग्राहकलाई काठमाडौंमा विशेष सम्मान समारोह आयोजना गरेर कदर गरिने प्राधिकरणको भनाइ छ।
ग्राहक सेवा नै मूलमन्त्र बनाउने उद्देश्यसहित सुरु गरिएको यो अभ्यासले व्यवसायिक क्षेत्रसँगको सहकार्यलाई थप मजबुत बनाउने विश्वास प्राधिकरणले लिएको छ।