लोकप्रिय हिन्दी हास्य चलचित्र शृंखला हेराफेरी को तेस्रो संस्करण हेराफेरी ३ निर्माणको तयारीमै रहँदा अभिनेता परेश रावल र अक्षय कुमारबीचको विवादले फिल्म क्षेत्र तातेको छ। बाबुरावका रुपमा जनमानसमा बसिसकेका परेश रावलले चलचित्रबाट बाहिरिएको दाबी भइरहँदा, उनका निकटका स्रोतले उक्त दाबीलाई "थिएटरिक कल्पना" भनेका छन्।
अक्षय कुमारको तर्फबाट परेश रावलविरुद्ध 'विश्वासघात' को आरोप लगाउँदै कानुनी कारबाहीको चेतावनी दिइएको खबर बाहिर आएपछि विवाद झन चर्किएको हो। अक्षयको कानुनी टोलीले फिल्मको प्रोमो र तीन मिनेटभन्दा लामो भाग छायांकन भइसकेको दाबी गर्दै, अचानक परेशले आफू अब फिल्ममा नरहने सूचना पठाएको जनाएका छन्।
तर, परेश रावलसँग नजिकको स्रोतले फिल्मको वास्तविक छायांकन त सुरु नै नभएको र उनीले कुनै ‘छाडफार’ नगरेको दाबी गर्दै भने, “फिल्मको सेट त अझै उठाइएको थिएन, उहाँ त हलचल सुरु हुनु अघिनै स्पष्ट भएर बाहिरिनुभएको हो।”
स्रोतका अनुसार परेश रावलले आफ्नो चार दशक लामो अभिनय करियर इमानदारी, अनुशासन र दक्षताबाट बनाएका हुन्, हेडलाइन र विवादबाट होइन।
हेराफेरी शृंखला
सन् २००० मा रिलिज भएको हेराफेरी र २००६ मा आएको फिर हेराफेरी ले बलिउडमा हास्य चलचित्रको स्तर नै उचो बनाएका थिए। परेश रावल, अक्षय कुमार र सुनिल सेट्टीको त्रिकोणीय केमिस्ट्री दर्शकको मनमा बसेको थियो। हेराफेरी ३ को निर्देशन पनि पहिलो फिल्मकै निर्देशक प्रियदर्शनले गर्न लागेका छन्।
अब फिल्ममा बाबुराव रहने कि नरहने भन्ने प्रश्नले दर्शकलाई पेचिलो बनाएको छ। पर्दामा हास्य छाउनुअघि पर्दापछिको यो ड्रामा दर्शकले चासोका साथ हेरिरहेका छन्।