व्यापारिक तथा सीमावर्ती शहरको रूपमा परिचित रक्सौलमा शनिबार एक भव्य प्रतिभा सम्मान कार्यक्रम सम्पन्न भएको छ। रक्सौलको पंकज हल सभाकक्षमा आयोजित सो कार्यक्रममा एसएलसी र इन्टर परीक्षा उतीर्ण छात्र–छात्रा, उत्कृष्ट प्रदर्शन गरेका खेलाडी तथा पत्रकारहरूलाई सम्मान गरिएको हो।
कार्यक्रमको आयोजना गौतम मिश्रा, भूपेन्द्र पाण्डे, अबरार अंसारी, राहुल कुमार र फखरुज्जमा अन्सारीको संयुक्त पहलमा गरिएको थियो। कार्यक्रमको औपचारिक सुरुवात अतिथिहरूद्वारा दीप प्रज्वलन गरी गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा रक्सौलका एसडिएम शिवाक्षी दीक्षित, पूर्व राज्यसभा सांसद सबीर अली, राष्ट्रिय जनता दल (राजद) का राष्ट्रिय सचिव सन्तोष जयसवाल, लोजपा प्रदेश महासचिव पंकज कुमार पाण्डे उर्फ लोहा पाण्डे, तथा भाजयुमो प्रदेश प्रवक्ता समृद्ध वर्मा लगायतको उपस्थिति रहेको थियो।
यद्यपि, एसडिएम दीक्षित सरकारी कार्यक्रममा सहभागी हुनुपरेका कारण कार्यक्रममा भौतिक रूपमा उपस्थित हुन सकेनन्। तर, भिडियो सन्देशमार्फत शुभकामना दिंदै प्रतिभा सम्मान कार्यक्रममा सदैव सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे।
पूर्व सांसद सबीर अलीले सम्मानित प्रतिभाहरूको उज्जवल भविष्यको कामना गर्दै, “प्रतिभा कहिल्यै सीमामा बाँधिनु हुँदैन, निरन्तर अग्रसर हुन जरुरी छ,” भन्ने अभिव्यक्ति दिएका थिए।
कार्यक्रममा नेपाल र भारतका विभिन्न स्थानबाट आएका पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो। आयोजकहरूले प्रतिभाहरूको पहिचान, उत्साहवर्धन र आगामी दिनमा अझ उत्कृष्ट योगदानका लागि प्रेरणा दिनु नै कार्यक्रमको उद्देश्य रहेको बताएका छन्।