हाल स्थगित अवस्थामा रहेको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को बाँकी खेलहरू सञ्चालनबारे आज अन्तिम निर्णय हुने भएको छ। दिउँसो बस्ने आईपीएल गभर्निङ काउन्सिलको बैठकले प्रतियोगिताको पुनः सञ्चालनका लागि अन्तिम योजना तय गर्ने तयारी गरेको छ।
लिगका चार प्लेअफ खेलसहित कुल १६ खेल अझै बाँकी रहेका छन्। गभर्निङ काउन्सिलमा पेश गरिने तीनवटा प्रारम्भिक प्रस्तावमध्ये एक परम्परागत 'होम एण्ड अवे' ढाँचामा सम्पूर्ण मैदानहरूमा खेल हुने छ, यद्यपि धर्मशालालाई सम्भवतः यसमा समावेश नगरिने अनुमान छ।
बाकी दुई प्रस्ताव भने सीमित भेगहरूमा—मुख्यतः भारतको दक्षिणी सहरहरू हैदराबाद, बेंगलुरु र चेन्नईमा लिग सम्पन्न गराउनेबारे केन्द्रित छन्। क्रिकबजका अनुसार यी सहरका क्रिकेट संघहरूले भारतीय क्रिकेट बोर्ड (BCCI) बाट औपचारिक जानकारी पाएको छैन।
यद्यपि, बीसीसीआई र आईपीएल प्रशासनले सहभागी फ्रेन्चाइजहरूलाई आफ्ना आधारशिविरमा पुनः जम्मा हुन संकेत गरिसकेको छ, जसले लिग फेरि सुरु हुने सम्भावना बलियो बनाएको छ। सबै कुरा ठीक रहेमा लिग यही हप्ता—मे १६ वा १७ बाट पुनः सुरु हुने अनुमान गरिएको छ।
गभर्निङ काउन्सिल सदस्यहरूलाई औपचारिक रूपमा बैठकबारे जानकारी नपुगे पनि बीसीसीआई अल्प सूचना (१५ मिनेटअघिको सूचना) मा बैठक डाक्ने परिपाटीमा रहँदै आएको छ। अघिल्लोपटक लिग स्थगित गर्ने निर्णय भएको बैठक बिहान १०:४५ मा सुरु भई ११:०० मा सकिएको थियो।
हाल देशभर लिग फैलाउँदा देखा पर्ने सम्भावित जोखिमहरूलाई ध्यानमा राख्दै बीसीसीआईले सीमित स्थानमै खेलहरू सम्पन्न गराउने सम्भावना उच्च छ।
यसैबीच, पछिल्लो तनावपूर्ण अवस्थाका कारण देश छाडेका केही विदेशी खेलाडीहरूको पुनः उपस्थितिमा अन्योल कायम छ। यद्यपि, बीसीसीआईले उपलब्ध खेलाडीहरूसँगै लिगको निष्कर्षसम्म पुर्याउने तयारी गरिरहेको छ, जसलाई असाधारण परिस्थिति भन्दै अघि बढाइने संकेत मिलेको छ।
आगामी केही घण्टामै आईपीएलको पुनः सञ्चालनबारे औपचारिक घोषणा हुने अपेक्षा गरिएको छ।