भारतका महान ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट तत्काल प्रभावले सन्यास लिएको घोषणा गरेका छन्। ३६ वर्षीय कोहलीले १२३ टेस्ट खेलमा ९२३० रन बनाउँदै ३० शतकको साथ ४६.८५ को औसतमा आफ्नो करियर सम्पन्न गरेका छन्।
कोहलीले सोमबार (मे १२) इन्स्टाग्राममार्फत एक भावुक सन्देश सार्वजनिक गर्दै आफ्नो टेस्ट यात्रा अन्त्यको घोषणा गरेका हुन्। उनले लेखेका छन्, “१४ वर्ष भयो मैले पहिलोपटक टेस्ट क्रिकेटमा बागी ब्लु पहिरेको। यो यात्राले मलाई जति परिक्षण गर्यो, त्यति नै बनायो र जीवनभरका लागि पाठहरू सिकायो।”
उनले अगाडि लेखेका छन्, “सेतो जर्सीमा खेल्नुमा केही गहिरो अपनत्व हुन्छ। लामो संघर्ष, मौन पलहरू, जुन कसैले देख्दैन तर मनमा सदैव बसिरहन्छन्। अब यो ढोका बन्द गर्नु सजिलो छैन, तर सही समय जस्तो लाग्छ। मैले यो ढोका बन्द गर्दा सन्तुष्टि र कृतज्ञता छ।”
कोहलीले आफ्नो अन्तिम टेस्ट भारतका लागि २६९ औं खेलाडीको रूपमा खेलेका थिए। उनले सन्देशको अन्त्यमा लेखेका छन्, “#२६९, साइनिङ अफ।”
कोहलीको यो निर्णय रोहित शर्मा र रविचन्द्रन अश्विनको हालैको सन्यासपछिको अर्को ठूलो विकास हो, जसले भारतीय क्रिकेटमा एक पूर्ण पुस्तान्तरणको संकेत दिएको छ। सन् २०१२ मा राहुल द्रविड, भीभीएस लक्ष्मणको सन्यासपछि, त्यसपछि सचिन तेन्दुलकर र विरेन्द्र सहवागको विदाइपछि यति व्यापक परिवर्तन पहिलोपटक देखिएको हो।
क्रिकबजको रिपोर्टअनुसार, भारतीय क्रिकेट बोर्ड (BCCI) ले कोहलीलाई अझ केही समय टेस्ट खेल्न आग्रह गरेको थियो भने एक वरिष्ठ प्रभावशाली व्यक्ति पनि उनलाई मनाउने प्रयासमा थिए। तर अन्ततः कोहलीले आफ्नै निर्णयलाई प्राथमिकता दिएका छन्।