जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका २६ जना नागरिकका परिवार र घाइतेहरूले भारतीय सेनाले पाकिस्तान र पाकिस्तान-अधिकृत कश्मीर (पीओके)मा सञ्चालन गरेको 'अपरेशन सिन्दूर'प्रति एकमत समर्थन व्यक्त गरेका छन्।
पीडितका परिवारले उक्त कारबाहीलाई 'चाँडो र निर्णायक' कदम भन्दै स्वागत गरेका छन्। उनीहरूको भनाइमा, भारतीय सेनाले आक्रमणमा संलग्न आतङ्ककारी संरचनामाथि कारबाही गरेर आफ्नो कर्तव्य पूरा गरेको छ र त्यसले उनीहरूका प्रियजनका लागि ‘न्याय’ दिलाएको महसुस भएको छ।
पहलगाम हमलामा जीवित बचेका नागपुरका तिलक रुपचान्दनी भन्छन्, “भारतीय सेनालाई धन्यवाद। उनले कडा कदम चाले र हामी सन्तुष्ट छौं। आतङ्ककारीहरूले निर्दोष नागरिकहरूलाई मारे, हामीले आफ्नै आँखाले देख्यौं। हामीले सरकारबाट प्रत्युत्तरको आशा गरेका थियौं र आज त्यो पूरा भएको छ। हामीलाई विश्वास छ कि प्रधानमन्त्री मोदीले भविष्यमा पनि पाकिस्तानलाई पाठ सिकाउनेछन्।”
बहराइचका भारत भूषणका दाजु प्रीतमले ANI सँग भने, “सरकारको निर्णयमा हामी पूर्णरूपमा समर्थन गर्छौं। यस्ता आतङ्ककारीहरूलाई कारबाही भएन भने अझ धेरै निर्दोष मारिनेछन्। मलाई लाग्छ, सरकारको निर्णय एक विस्तृत अध्ययनपश्चात् आएको हो।”
भारतीय नौसेनाका लेफ्टिनेन्ट विनय नारवालका पिता राजेश नारवालले पनि सरकारको कदमप्रति आस्था व्यक्त गरे। “तपाईंहरूले त्यो बेला सोध्नुभएको थियो, म सरकारबाट के चाहन्छु? मैले भनेको थिएँ, सरकारप्रति मेरो पूरा विश्वास छ। र आज, सरकारले त्यो विश्वासको सम्मान गरेको छ,” उनले भने।
कर्नाटकका मञ्जुनाथ रावकी आमा सुमति, जसले छोरालाई उक्त हमलामा गुमाइन्, भावुक हुँदै भनिन्, “मेरो छोराको बलिदान खेर गएकाे छैन। हामीलाई आशा थियो कि प्रधानमन्त्री मोदीले उपयुक्त कदम चाल्नेछन्, र त्यो पूरा भयो।”
गुजरातको भावनगरका यतिश परमारका भतिजाले पनि भने, “घटनाको १५ दिनपछि भारतीय सेनाले ती आतङ्ककारीहरूलाई कारबाही गर्यो। प्रधानमन्त्री मोदी र भारतीय सेनाले जुन प्रतिवद्धता जनाएका थिए, त्यो पुरा भएकोमा मलाई गर्व लागेको छ।”