रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणालाई स्वीकार गर्दै भारत भ्रमण गर्ने सहमति जनाएका छन्। भारतीय समाचार संस्था एएनआईका अनुसार प्रधानमन्त्री मोदीले पुटिनलाई यस वर्ष भारतमा आयोजना हुने २३औँ भारत–रुस वार्षिक सम्मेलनमा सहभागी हुन निमन्त्रणा दिएका थिए।
भारत-रूस सम्बन्धमा ‘बाह्य दबाबको प्रभाव छैन’
प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनबीच भएको टेलिफोन वार्तामा भारत–रुस सम्बन्धमा कुनै बाह्य प्रभाव नपरेको र सम्बन्ध अझ गतिशील रूपमा अघि बढिरहेको कुरामा जोड दिइएको थियो। दुबै नेताले ‘विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी’लाई थप सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।
पुटिनद्वारा भारतको आतंकवादविरुद्धको लडाइँलाई समर्थन
प्रधानमन्त्री मोदीले वार्ताको क्रममा विजय दिवसको ८०औँ वार्षिकोत्सवको अवसरमा पुटिनलाई शुभकामना व्यक्त गरे।
यसैक्रममा राष्ट्रपति पुटिनले काश्मीरको पहलगाममा हालै भएको आतंकी हमलाको कडा निन्दा गर्दै भारतलाई पूर्ण समर्थन रहेको बताएका छन्। भारतीय विदेश मन्त्रालय (MEA) द्वारा जारी विज्ञप्तिमा पुटिनले हमलाको दोषी र तिनलाई सहयोग गर्नेहरूलाई न्यायको कठघरामा ल्याउनुपर्नेमा जोड दिएको उल्लेख छ।
रुसले भारत–पाकिस्तान तनाव घटाउन आह्वान
यसअघि, मे ३ मा रुसका विदेशमन्त्री सेर्गेइ लाभरोभ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच टेलिफोन वार्ता भएको थियो। वार्तामा लाभरोभले दिल्ली–इस्लामाबादबीचको विवादलाई द्विपक्षीय राजनीतिक–कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने बताएको बताइएको छ।
यस्तै, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सोमबार पत्रकारहरूसँग बोल्दै भने, “हामी भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्तित छौं। दुबै पक्षले तनाव घटाउने उपाय अवलम्बन गर्नेछ भन्ने आशा लिन्छौं।”
गत महिना पाकिस्तान समर्थित आतंककारीको आक्रमणमा काश्मीरको पहलगाममा २६ जना निर्दोष नागरिकको मृत्यु भएको थियो, जसपछिको तनावबारे रुसले चासो व्यक्त गरेको हो।