कतारमा जारी राइजिङ स्टार्स एसिया कप क्रिकेटमा नेपालले आफ्नो दोस्रो खेलमा यूएईविरुद्ध टस जितेको छ ।
नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले यसअघि पहिलो खेलमा भारतविरुद्ध खराब प्रदर्शन गर्दै २६ रनमै अलआउट भएको थियो । उक्त खेलमा नेपालले लज्जास्पद हार बेहोरेको थियो । यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तान शाहीन्ससँग पराजित भएको थियो ।
आजको खेल नेपालका लागि विशेष महत्वको छ । यो नेपालको १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेल हो । नेपालले अहिलेसम्म यूएईसँग नै सबैभन्दा धेरै ओडीआई खेलेको छ ।
दुई टोलीबीच हालसम्म २० खेल हुँदा नेपालले १२ खेल जितेको छ भने ८ खेलमा पराजय बेहोरेको छ । यूएईविरुद्ध नै नेपालले सबैभन्दा धेरै जित र हार दुवै बेहोरेको छ ।
नेपालले पछिल्लोपटक एसीसी प्रिमियर कपको फाइनलमा यूएईसँग प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा यूएईलाई पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो र एसिया कपमा स्थान बनाएको थियो ।
हालसम्म खेलेका ९९ ओडीआईमा नेपालले ४९ जित, ४७ हार, एक बराबरी र दुई खेलमा नतिजाविहीन भएको छ ।
आज यूएईलाई पराजित गर्न सके नेपालले आफ्नो ऐतिहासिक १००औँ ओडीआई खेललाई ५०औँ जितका रूपमा यादगार बनाउन सक्नेछ ।