नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदयाममा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ।
भारतको विद्युत् मन्त्रालयअन्तर्गत केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे–अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न अनुमति दिएको हो।
प्राधिकरणले आगामी १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म विद्युत् आयात गर्न पाउनेछ। अनुमति अनुसार बिहान ५ देखि ८ बजेसम्म र साँझ ५ देखि ९ बजेसम्मबाहेक अन्य समयमा विद्युत् आयात गर्न सकिनेछ।
विद्युत् आयातका लागि कटैया–कुशाहा, रामनगर–सुरजपुरा र रक्सौल–परवानीपुर १३२ केभी प्रसारण लाइनबाट ३०० मेगावाट तथा न्यु नौतनिया–मैनहिया १३२ केभी प्रसारण लाइनबाट ५० मेगावाट गरी कुल ३५० मेगावाट विद्युत् आयात गर्न सकिनेछ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतबाट आयात अनुमति प्राप्त भएकाले आगामी हिउँदयाममा विद्युत्को माग र आपूर्ति व्यवस्थापन सहज हुने बताए।
रसुवास्थित भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको हिमबाढीका कारण जलविद्युत् आयोजना तथा प्रसारण लाइनमा क्षति पुग्दा ४३१ मेगावाट जडित क्षमताका आयोजना राष्ट्रिय विद्युत् प्रणालीबाट विच्छेद भएका छन्। यस अवस्थालाई समेत ध्यानमा राखेर हिउँदयामको विद्युत् माग र आपूर्ति व्यवस्थापनका लागि तयारी गरिएको श्रेष्ठले बताए।
प्राधिकरणको विश्लेषणअनुसार यस वर्ष पुसदेखि चैतसम्म चार महिनासम्म विद्युत्को माग आन्तरिक उत्पादनभन्दा बढी हुने अनुमान छ। उक्त अवधिमा भारतबाट विद्युत् आयात गर्नुपर्ने देखिएको छ।
विशेषगरी माघ र फागुनमा दैनिक औसत ४५० देखि ५०० मेगावाटसम्म विद्युत् आयात गर्नुपर्ने अनुमान गरिएको छ। उच्च माग हुने समयमा भने दैनिक ८०० देखि ९०० मेगावाटसम्म आयात गर्नुपर्ने अवस्था आउन सक्ने प्राधिकरणको आकलन छ। पुस र चैतमा भने तुलनात्मक रूपमा कम विद्युत् आयात गरे पुग्नेछ।
आगामी वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जाँदा आन्तरिक विद्युत् उत्पादन वृद्धि हुने र भारतबाट हुने आयात क्रमशः प्रतिस्थापन भई विद्युत् निर्यात सुरु हुने अनुमान गरिएको छ।
५६ मेगावाट विद्युत् निर्यात गर्न पनि अनुमति
यसैबीच, प्राधिकरणले तीन जलविद्युत् आयोजनाबाट उत्पादित कुल ५६ मेगावाट विद्युत् भारतीय ऊर्जा विनिमय बजारमा बिक्री गर्न पनि अनुमति पाएको छ।
प्राधिकरणले आगामी १ मंसिर २०८३ देखि १५ साउन २०८४ सम्म उक्त विद्युत् भारतमा निर्यात गर्न सक्नेछ।