नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारहरूको श्रम अधिकार उल्लंघनविरुद्ध चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
महासंघका महासचिव रामप्रसाद दाहालद्वारा मङ्सिर १ गते जारी प्रेस विज्ञप्तिमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।
समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भएको तथा सञ्चारमाध्यममा अनधिकृत रूपमा गाडी तेर्स्याउने व्यक्तिमाथि हालसम्म कारबाही नभएको भन्दै महासंघले विरोध जनाएको छ।
त्यसैगरी, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरिएको र श्रम अधिकार उल्लंघन भएको विषयमा पनि महासंघले आपत्ति जनाएको छ।
लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गर्दै आएको रकम प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार उपलब्ध नगराइएकोप्रति समेत महासंघले असन्तुष्टि व्यक्त गरेको छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा सरकारले अनुदार व्यवहार देखाएको महासंघको ठहर छ।
महासंघले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रमअनुसार मङ्सिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाइनेछ। मङ्सिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखलाई ध्यानाकर्षणपत्र पठाइनेछ।
त्यस्तै, मङ्सिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) सँग छलफल गरिनेछ। मङ्सिर ७ गते सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
यसैगरी, मङ्सिर ९ गते जिल्ला शाखाहरूको आयोजनामा देशभरका जिल्ला प्रशासन कार्यालयमा ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ भन्ने ब्यानरसहित भेला भई विरोध प्रदर्शन गरिने महासंघले जनाएको छ।
घोषित कार्यक्रमबाट पनि माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने महासंघले चेतावनी दिएको छ।