शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेस प्रदेशको शिक्षा क्षेत्रका समस्या पहिचान गरी समाधानका उपायसहित मन्त्रालयमा पेस गर्न राजर्षि जनक विश्वविद्यालयलाई निर्देशन दिएका छन्।
बुधबार धनुषामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै मधेसको शिक्षा क्षेत्रका समस्या अध्ययन तथा अनुसन्धानमार्फत पहिचान गर्न विश्वविद्यालयलाई आग्रह गरेका हुन्।
उनले विश्वविद्यालयहरू पढ्ने र पढाउने काममा मात्र सीमित नभई सम्बन्धित क्षेत्रका समस्या पहिचान, अध्ययन तथा अनुसन्धानमा समेत सक्रिय हुनुपर्नेमा जोड दिए। मधेस प्रदेशमा शिक्षाको गुणस्तर सुधारका लागि सरकार गम्भीरतापूर्वक अघि बढिरहेको उनको भनाइ थियो।
नयाँ विश्वविद्यालय स्थापनाका लागि भवन निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै मन्त्री पोखरेलले उपलब्ध स्रोत र क्षमताअनुसार सबै पक्षले काममा केन्द्रित हुनुपर्ने बताए।
मधेसका विद्यार्थी उच्च शिक्षाका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘अहिले शिक्षा ऐन निर्माणको क्रममा छ। मधेस प्रदेशका शिक्षा क्षेत्रमा रहेका समस्या खोज र अध्ययनमार्फत पहिचान गरी मन्त्रालयमा पेस गर्न म राजर्षि जनक विश्वविद्यालयलाई अनुरोध गर्छु।’
उनले मधेसमा पढाइ राम्रो हुन नसक्नुका कारण र सुधारका सम्भावनाबारे समेत अध्ययन गर्नुपर्ने आवश्यकता रहेको बताए।
मन्त्री पोखरेलले राजर्षि जनक विश्वविद्यालयले अन्य विश्वविद्यालयको स्तरसम्म पुग्न अझै थप मेहनत गर्नुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरे।