मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज (आइतबार) पद तथा गोपनीयताको शपथ लिँदैछन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार यादवले बिहान १० बजे मुख्यमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।
प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शुक्रबार यादवलाई मुख्यमन्त्री नियुक्त गरेका थिए। प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादव दोस्रोपटक मधेस प्रदेशको मुख्यमन्त्री बनेका हुन्।
यसअघि प्रदेश प्रमुखको कार्यालयले कात्तिक २८ गते संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरेको थियो। तर, निर्धारित समयभित्र कुनै पनि दल वा प्रदेशसभा सदस्यले दाबी पेस नगरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको नेताका हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री नियुक्त भए पनि यादवका लागि सरकारलाई निरन्तरता दिनु मुख्य चुनौती बनेको छ। संवैधानिक व्यवस्थाअनुसार उनले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। तर, अन्य दलसँग सत्ता सहकार्यको सहमति जुट्न नसकेकाले विश्वासको मत प्राप्त गर्ने आधार तत्काल स्पष्ट देखिएको छैन।
१०७ सदस्यीय मधेस प्रदेशसभामा प्रतिनिधिसभा निर्वाचनका लागि चार प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल कायम सदस्य संख्या १०३ छ। यस्तो अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न कम्तीमा ५३ मत आवश्यक पर्छ।
जसपा नेपालसँग २८ प्रदेशसभा सदस्य रहे पनि एक सदस्य निलम्बनमा रहेकाले हाल २७ सदस्यको मात्रै समर्थन छ। यसअनुसार यादवले विश्वासको मत प्राप्त गर्न थप २६ प्रदेशसभा सदस्यको समर्थन जुटाउनुपर्ने देखिन्छ।
यता नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेताहरूले आफूहरूसँग बहुमत पुग्ने प्रदेशसभा सदस्य संख्या रहेको दाबी गर्दै प्रदेश प्रमुखसमक्ष निवेदन दिएका थिए। उनीहरूले संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्ने समय थप गर्नसमेत आग्रह गरेका थिए।
तर, प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (३) अनुसार सबैभन्दा ठूलो दलको संसदीय दलका नेताका रूपमा यादवलाई मुख्यमन्त्री नियुक्त गरेपछि मधेस प्रदेशको सत्ता समीकरण नयाँ राजनीतिक मोडमा पुगेको छ।
यादवको दोस्रो कार्यकाल, पहिलोमा गुमाएका थिए विश्वासको मत
सरोजकुमार यादव यसअघि पनि मधेस प्रदेशको मुख्यमन्त्री भइसकेका छन्। उनी पहिलोपटक २०७९ पुस २७ गते संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।
तर, २०८१ जेठ २३ गते प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनको पहिलो कार्यकाल अन्त्य भएको थियो। त्यसबेला प्रदेशसभामा उपस्थित १०३ सांसदमध्ये ५० जनाले मात्रै विश्वासको मतको पक्षमा मतदान गरेका थिए भने ५३ जनाले विपक्षमा मत दिएका थिए।
पहिलो कार्यकालमा विश्वासको मत गुमाएका यादव दोस्रोपटक मुख्यमन्त्री बनेका छन्। तर, यसपटक पनि उनको राजनीतिक परीक्षा सहज देखिँदैन। मुख्यमन्त्रीको शपथ लिएसँगै प्रदेशसभामा आवश्यक बहुमत जुटाएर विश्वासको मत प्राप्त गर्नु र सरकारलाई स्थायित्व दिनु उनका लागि प्रमुख चुनौती हुनेछ।