जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मधेश प्रदेशमा आगामी तीन दिन सामान्यदेखि हल्का वर्षाको सम्भावना रहे पनि ठूलो मौसमी जोखिमको चेतावनी नरहेको जनाएको छ।
महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसम बुलेटिनअनुसार मधेश प्रदेशका सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी सबै आठ जिल्लालाई हाल कुनै मौसमी चेतावनी नरहेको क्षेत्रका रूपमा राखिएको छ।
महाशाखाका अनुसार सोमबार (असोज १९) मधेश प्रदेशका केही भू–भागमा हल्का वर्षा हुनसक्ने सम्भावना छ। यद्यपि, बाढी, डुबान वा अन्य गम्भीर मौसमी जोखिम निम्त्याउने गरी कुनै चेतावनी जारी गरिएको छैन।
त्यस्तै, मंगलबार (असोज २०) प्रदेशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहने तथा एकाध स्थानमा हल्का वर्षा हुनसक्ने अनुमान गरिएको छ। यस दिन पनि ठूलो मौसमी जोखिमको सम्भावना नरहेको महाशाखाले जनाएको छ।
बुधबार (असोज २१) मधेश प्रदेशको मौसम मुख्यतः सामान्य रहने अनुमान गरिएको छ। केही स्थानमा हल्का वर्षा हुनसक्ने भए पनि गम्भीर मौसमी गतिविधिको सम्भावना देखिएको छैन।
मनसुनी गतिविधि कमजोर हुँदै गएसँगै मधेशमा भारी वर्षा तथा गम्भीर मौसमी विपद्को जोखिम तत्कालका लागि न्यून रहेको महाशाखाको पूर्वानुमान छ। यद्यपि, स्थानीयस्तरमा मौसममा परिवर्तन आउन सक्ने भएकाले किसान तथा सर्वसाधारणलाई दैनिक मौसम पूर्वानुमान र सूचनामा ध्यान दिन आग्रह गरिएको छ।