युक्रेनको राजधानी किभका प्रमुख पुलहरूमा रूसले लगातार चौथो दिन ड्रोन आक्रमण गरेको छ। आइतबार बिहान पिभ्निच्नी (नर्दर्न) पुलमा भएको आक्रमणमा दुई जना घाइते भएका छन्। यसअघि पिभ्देनी (सदर्न) पुलमा समेत पटक–पटक आक्रमण भएको थियो।
रुसी आक्रमणका कारण किभको पूर्व र पश्चिम भाग जोड्ने महत्वपूर्ण पुलहरूको आवागमन प्रभावित भएको छ। पुलहरू पूर्ण रूपमा भत्किएका छैनन्, तर क्षति र यातायात प्रतिबन्धका कारण राजधानीका विभिन्न क्षेत्रमा जाम बढेको छ।
युक्रेनी अधिकारीहरूका अनुसार पुलको क्षति मर्मत गर्ने काम भइरहेको छ। राजधानीलाई पुनः जोडिराख्न अस्थायी पोन्टुन पुल, फेरी सेवा तथा नदीमुनि सुरुङ निर्माणको विकल्पसमेत अघि सारिएको छ।
किभका मेयर भिताली क्लित्स्कोका अनुसार रुसी ड्रोन आक्रमणबाट अर्को क्षेत्रमा रहेको तातोपानीको मुख्य पाइपलाइनसमेत क्षतिग्रस्त भएको छ। यसका कारण राजधानीको उत्तरपूर्वी देसन्यान्स्की जिल्लामा केही समय तातोपानी आपूर्ति प्रभावित हुने भएको छ।
युक्रेनी वायुसेनाका अनुसार रूसले रातभर १३५ ड्रोन प्रहार गरेको थियो, जसमध्ये ५२ वटा जेट इन्जिनयुक्त ड्रोन थिए। युक्रेनले १२५ वटा प्रहारलाई खसालेको दाबी गरेको छ।
आक्रमण भइरहेका बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज अचानक किभ पुगेका छन्। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्दै युद्धमा मारिएका युक्रेनी सैनिकको स्मारकमा श्रद्धाञ्जली दिएका छन्।
मर्जले युक्रेनलाई आगामी दिनमा जर्मनीको समर्थन निरन्तर रहने बताएका छन्। उनका अनुसार रूसलाई रोक्न नसकिए युद्धको प्रभाव युरोपको सुरक्षामा समेत पर्न सक्ने जर्मनीको धारणा छ।
यता रूसको रक्षा मन्त्रालयले जेलेन्स्कीका पछिल्ला अभिव्यक्तिको प्रतिक्रियास्वरूप युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण थप तीव्र बनाउने जनाएको छ। जेलेन्स्कीले यसअघि रुसी तेल प्रशोधन केन्द्रमा युक्रेनले आक्रमण बढाउने बताएका थिए।
युक्रेनको सुमी क्षेत्रमा रुसी ड्रोन आक्रमणबाट एक जनाको मृत्यु भएको तथा मध्ययुक्रेनको डिनिप्रोमा सञ्चारसम्बन्धी संरचनामा भएको आक्रमणमा छ जना घाइते भएको जेलेन्स्कीले बताएका छन्।
विशेषज्ञहरूले ड्रोन आक्रमणबाट पुल तत्कालै पूर्ण रूपमा ढल्ने सम्भावना कम भए पनि लगातार आक्रमण हुँदा संरचनामा क्षति पुग्न सक्ने र पुललाई लामो समयसम्म बन्द गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन्।