मुलुक आर्थिक दबाबमा रहेका बेला तथा रसुवामा विनाशकारी बाढीपहिरोबाट ठूलो क्षति भएको अवस्थामा मधेश सरकारले करिब ४ करोड रुपैयाँ पर्ने विलासी गाडी खरिद प्रक्रिया अघि बढाएको छ।
श्रम तथा यातायात मन्त्रालयले ४ करोड रुपैयाँ मूल्य पर्ने चारपांग्रे गाडी खरिदका लागि भदौ २५ गते बोलपत्र आह्वान गरिसकेको खुलेको छ।
गाडी खरिदका लागि चालु आर्थिक वर्षमा श्रम तथा यातायात मन्त्रालयको शीर्षकमा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो। थप ५० लाख रुपैयाँ आवश्यक पर्ने भन्दै मन्त्रालयले अर्थ मन्त्रालयलाई बजेट थप गरिदिन पत्र पठाएको छ।
मन्त्रालयका उपसचिव जयकुमार राउतका अनुसार टेन्डर आह्वान प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयसँग स्वीकृति मागिएको हो।
तर, अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये करिब ७ अर्ब रुपैयाँ घट्ने अनुमान गर्दै विभिन्न शीर्षकमा २० देखि शतप्रतिशतसम्म बजेट कटौती गर्न मातहतका निकायलाई पत्राचार गरेको छ। केही शीर्षकको बजेट पीएलआईएमबीएसमा समेत रोक्का गरिएको छ, जसमा सवारीसाधन खरिदको बजेट पनि परेको बताइएको छ।
यता, श्रम तथा यातायात मन्त्रालयका निमित्त सचिव रञ्जित यादवले भने चालु आर्थिक वर्षको बजेटमै अतिविशिष्ट अतिथिका लागि सवारीसाधन खरिद गर्न रकम विनियोजन भएकाले खरिद प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार गाडी खरिद प्रक्रिया अघि बढाउन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै पत्राचार भएको हो।
अर्थ मन्त्रालयले अन्य सवारीसाधन खरिदका लागि बजेट रोक्का गरिए पनि अतिविशिष्ट व्यक्तित्वका लागि खरिद गरिने गाडीको बजेट भने नरोकिएको दाबी गरेको छ।
मधेश सरकारले खरिद गर्न लागेको नयाँ गाडी राष्ट्रपति तथा प्रधानमन्त्रीलगायत अतिविशिष्ट व्यक्तित्व मधेश प्रदेशमा आउने बेला प्रयोग गर्ने उद्देश्यले ल्याउन लागिएको दाबी गरिएको छ।