लगातारको भारी वर्षाका कारण लालबकैया नदीको जलस्तर बढेपछि रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरस्थित तटबन्धमा भएको कटान रोक्न स्थानीय प्रशासन र सुरक्षा निकायले सक्रियता बढाएका छन्।
तटबन्धमा कटान तीव्र भएपछि मौलापुर नगरपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ तथा बौधिमाई नगरपालिकाका वडा नम्बर १, २ र ३ का विभिन्न क्षेत्र डुबानको उच्च जोखिममा परेका छन्। जोखिमलाई ध्यानमा राख्दै तटबन्ध मर्मत तथा कटान नियन्त्रणको काम तीव्र पारिएको छ।
तटबन्धको अवस्था र भइरहेको मर्मत कार्यको आइतबार अबेर साँझ मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, नेपाली सेनाको मध्यपूर्वी पृतना महोत्तरीका पृतनापति उपरथी भुवन केसी, मधेस प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारी र सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टलगायतका अधिकारीले स्थलगत अनुगमन गरेका छन्।
अनुगमनमा राष्ट्रिय अनुसन्धान विभाग मधेस प्रदेशका प्रमुख माधव तिम्लसिना, मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि तथा स्थानीय बासिन्दासहित करिब ५०–६० जनाको सहभागिता थियो।
अनुगमनका क्रममा मन्त्री महतोले बौधिमाई र मौलापुर क्षेत्रमा लालबकैया नदीको तटबन्धमा भइरहेको कटान रोक्न तथा क्षतिग्रस्त संरचनाको पुनः मर्मत गर्न प्रदेश सरकार पूर्ण प्रतिबद्ध रहेको बताए।
प्रशासनका अनुसार मर्यादपुरस्थित तटबन्धमा ठूलो क्षति पुगेमा मौलापुरसँगै गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवा क्षेत्र प्रभावित हुन सक्ने जोखिम छ। यस्तै, फतुवा पुल नजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्ध भत्किएमा बाढीको पानी सदरमुकाम गौरसम्म पुग्न सक्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन्।
‘तटबन्ध जोगाउनु अहिलेको मुख्य प्राथमिकता हो’ भन्दै प्रशासनले जोखिमयुक्त क्षेत्रमा निगरानी बढाएको छ। आवश्यक सुरक्षा जनशक्तिसमेत परिचालन गरिएको जनाएको छ।
तटबन्धमा थप क्षति हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा राजपुर र मर्यादपुर क्षेत्रमा कटान सुरु भएका स्थानमा बाँस गाड्ने र बालुवाले भरिएका बोरा राखेर पानीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
क्षतिग्रस्त तटबन्धको तत्काल मर्मतका लागि प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्मलाई आवश्यकताअनुसार परिचालन गरिएको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले लालबकैया नदीको जलस्तर अझै बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै प्रशासनले नदी तथा तटबन्ध आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजान र बाढीको सूचना प्राप्त हुनेबित्तिकै सुरक्षित स्थानतर्फ जान स्थानीयलाई अनुरोध गरिएको छ।