अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडक खण्डका विभिन्न १० स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।
नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का अनुसार शीतल बजार, गोमती खोला, कृष्णभीर, ज्यामिरेघाट–चौकीभीर, हुग्दी खोला–जवाङ खोला, फिस्लिङ, चुम्लिङटार, धारापानी, घोप्टेभीर र सिमलधारामा पहिरो तथा सडकमा क्षति पुगेको छ।
कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकको तल्लो भाग भने यथावत रहेको र पहिरोको जोखिमयुक्त भागलाई प्लास्टिकले छोपिएको छ।
ज्यामिरेघाट–चौकीभीर, घोप्टेभीर र सिमलधारामा पनि पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जनाइएको छ।
फिस्लिङ क्षेत्रमा तीन स्थानमा गरी २०० मिटरभन्दा बढी सडक ठूला ढुंगा, लेदो र रुखसहितको पहिरोले पुरिएको छ। त्यहाँ सडकको केही भाग करिब ३० मिटर चर्किनुका साथै दबिएको छ।
धारापानीमा करिब ५० मिटर सडकको आधा भाग भत्किएको छ। केही स्थानमा सडक एकतर्फी सञ्चालनमा रहे पनि लगातारको वर्षाका कारण थप जोखिम कायमै रहेको सडक योजनाले जनाएको छ।
वर्षा रोकिएपछि प्रभावित सबै स्थानमा आवश्यक मेसिन तथा उपकरण परिचालन गरी सडक खुलाउने तयारी गरिएको छ। तर, आइतबार पनि मलेखु–मुग्लिङ सडक खण्ड पूर्ण रूपमा सञ्चालनमा आउन नसक्ने देखिएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ।