बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मधेश प्रदेशमा आजदेखि मौसममा सुधार आउने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय प्रणाली क्रमशः कमजोर हुँदै कोशी प्रदेशबाट बाहिरिसकेको छ। मधेश र बागमती प्रदेशमा रहेको यसको हल्का प्रभाव पनि आजबाट हट्ने सम्भावना छ।
महाशाखाका अनुसार आज अपराह्नदेखि मधेशसहित कोशी र काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा मौसममा उल्लेख्य सुधार आउने सम्भावना छ। पछिल्लो तीन घण्टायता वर्षा पनि धेरै हदसम्म कम भएको जनाइएको छ।
तर, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा भने आज पनि वर्षा हुने सम्भावना छ। यद्यपि अघिल्ला दिनको तुलनामा वर्षाको क्षेत्र र मात्रा कम हुने मौसमविद्ले बताएका छन्।
पछिल्लो २४ घण्टामा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका विभिन्न जिल्लामा भारीदेखि अति भारी वर्षा भएको थियो। चितवनको कल्याणपुरमा सबैभन्दा धेरै २२२.४ मिलिमिटर वर्षा मापन गरिएको महाशाखाले जनाएको छ।
मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार भोलिदेखि चितवनको नारायणी नदीदेखि पश्चिमतर्फका गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रमा पनि मौसम क्रमशः खुल्दै जानेछ। ती क्षेत्रमा भने पूर्णरूपमा मौसम खुल्न सोमबारसम्म पर्खनुपर्ने उनको भनाइ छ।
त्यसपछि यो साताभर ठूलो वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्। यद्यपि मनसुनी प्रणाली अझै देशभर कायम रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना भने रहनेछ।