मधेस प्रदेशमा सञ्चालनमा रहेका एफएम रेडियो तथा टेलिभिजनसँग सम्बन्धित फाइल सूचना तथा प्रसारण विभागले आमसञ्चार प्राधिकरण मधेस प्रदेशलाई हस्तान्तरण गरेको छ।
बिहीबार काठमाडौंस्थित सूचना तथा प्रसारण विभागको कार्यालयमा विभागका महानिर्देशक अनुप दाहालले आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष जितेन्द्र खड्गालाई फाइल हस्तान्तरण गरेका हुन्।
फाइल बुझेपछि अध्यक्ष खड्गाले यो मधेस प्रदेशका एफएम तथा टेलिभिजन सञ्चालकका लागि खुसीको कुरा भएको बताए। उनले अब रेडियो तथा टेलिभिजनको नवीकरणलगायत सामान्य कामका लागि काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य भएको बताए।
उनका अनुसार एफएम रेडियोको दर्ता तथा नवीकरण अब प्राधिकरणको जनकपुरस्थित कार्यालयबाटै हुनेछ। नेपालको संविधान तथा मधेस प्रदेश सञ्चार ऐनले रेडियो तथा टेलिभिजनको दर्ता र नवीकरण प्रदेशबाटै हुने व्यवस्था गरे पनि सरकारी लापरबाहीका कारण विगत सात वर्षदेखि सम्बन्धित फाइल केन्द्रमै रोकिएका थिए।
फाइल केन्द्रमै रहँदा सञ्चार संस्था सञ्चालकले प्रदेशबाट पाउनुपर्ने सेवाबाट वञ्चित हुनुपरेको र मधेस सरकारले वार्षिक करोडौँ रुपैयाँ राजस्वसमेत गुमाउँदै आएको अध्यक्ष खड्गले बताए।
‘मैले जिम्मेवारी सम्हालेकै दिनदेखि फाइल ल्याउन निरन्तर प्रयास गर्दै आएको थिएँ,’ अध्यक्ष खड्गले भने, ‘यस प्रक्रियामा रहेका केही कानुनी जटिलता समाधान गर्न मधेस सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको असाध्यै सहयोग रह्यो। उहाँ र तत्कालीन गृहसचिव गणेश नायकको सहयोगमा रेडियो तथा टेलिभिजनका फाइल प्राधिकरणमा ल्याउन सफल भएका हौँ।’
अध्यक्ष खड्गले रेडियो तथा टेलिभिजनका फाइल प्राधिकरणमा ल्याउनु सामान्य जस्तो देखिए पनि मधेस सरकारका लागि ठूलो उपलब्धि भएको बताए।
उनले यसबाट संविधानप्रदत्त अधिकार कार्यान्वयन हुनुका साथै रेडियो तथा टेलिभिजन सञ्चालकलाई प्रदेशबाटै सेवा उपलब्ध गराउन सहज हुने बताए। साथै, अब दर्ता तथा नवीकरणबाट प्राप्त हुने राजस्वसमेत मधेस प्रदेश सरकारलाई प्राप्त हुने भएकाले आमसञ्चार प्राधिकरण प्रदेश सरकारलाई राजस्व उपलब्ध गराउने कार्यालयमध्ये अग्रणी बन्ने उनको भनाइ छ।