मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले आफ्नै मातहत छपाइ गरिएका ३ हजार ८१ थान सवारी चालक अनुमतिपत्र बुधबार प्रदेशका विभिन्न यातायात कार्यालयलाई हस्तान्तरण गरेको छ।
मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रदेशभरिका यातायात कार्यालयबाट माग भएअनुसार छपाइ गरिएका लाइसेन्स वितरण गरेको हो। श्रम तथा यातायातमन्त्री शारदा थापाले जनकपुर कार्यालयका लागि छपाइ भएका लाइसेन्स यातायात कार्यालय प्रमुख वासुदेव मल्ललाई हस्तान्तरण गरिन्।
मन्त्री थापाका अनुसार प्रदेश सरकारकै पहलमा सुरक्षण मुद्रण केन्द्रबाट चालक अनुमतिपत्र छपाइ गरी वितरण सुरु गरिएको हो। उनले मधेस प्रदेशले अन्य प्रदेशभन्दा अघि आफ्नै पहलमा लाइसेन्स छपाइ तथा वितरण सुरु गरेको बताइन्।
छपाइ भएका लाइसेन्स स्थानीय तहसँगको सहकार्यमा वडासम्म पुर्याएर सेवाग्राहीलाई घरदैलोमै वितरण गर्ने तयारी भइरहेको मन्त्री थापाले जानकारी दिइन्।
मन्त्रालयका सचिव रंजित यादवले अब ट्रायल पास गरेको एक साताभित्रै सेवाग्राहीले लाइसेन्स पाउने दाबी गरे। उनका अनुसार विगतमा संघीय सरकार मातहतबाट छपाइ हुँदा समय लाग्ने गरेकोमा अब प्रदेश सरकारले आवश्यक संख्या निर्धारण गरी सुरक्षण मुद्रण केन्द्रमा पठाउने भएकाले निश्चित समयमै लाइसेन्स छपाइ भएर आउनेछ।
यातायात कार्यालय जनकपुरका प्रमुख बासुदेव मल्लले पनि प्रदेश सरकारबाटै छपाइ सुरु भएपछि सेवाग्राहीलाई लाइसेन्स प्राप्त गर्न सहज हुने बताए। उनका अनुसार यसअघि ट्रायल पास गरेको करिब एक महिनाभित्र लाइसेन्स वितरण हुँदै आएकोमा अब एक साताभित्रै उपलब्ध गराउन सकिनेछ।
मन्त्रालयले राजविराजलाई ५२, लहानलाई ४६०, बर्दिबासलाई ३०३, जनकपुरलाई ९३२, मलंगवालाई ३२, गौरलाई ११९, कलैयालाई ११ र वीरगन्जलाई १ हजार १७२ थान चालक अनुमतिपत्र पठाएको छ।