प्रधानमन्त्री बालेन शाहले रसुवामा आएको विनाशकारी बाढी रसुवा, नुवाकोट र धादिङको मात्रै नभई सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको बताएका छन्।
प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले भने, ‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्रै होइन। यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो।’
भदौ १० गते बुधबार भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत क्षेत्र प्रभावित भएका छन्। बाढीले धादिङ, चितवन र गोरखाका त्रिशूली नदी तटीय क्षेत्रसमेत प्रभावित बनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म १ हजार ११४ जनाको शव फेला परेको छ।
प्राधिकरणका अनुसार रसुवामा ४१, नुवाकोटमा १५५, धादिङमा ५९, चितवनमा ३४८, गोरखामा ६६, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१७ र नवलपरासी पश्चिममा १९० जनाको शव फेला परेको छ।
बाढीपछि ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको तथा २९२ जना घाइते भएको विवरण प्रधानमन्त्रीले संसद्लाई जानकारी गराएका छन्। हालसम्म बाढी प्रभावित क्षेत्रबाट ११ हजार ९९३ जनाको उद्धार गरिएको छ।
प्रतिनिधिसभाको बैठकको सुरुमै प्रधानमन्त्री शाहले बाढीबाट भएको क्षति, बेपत्ताको अवस्था तथा जारी उद्धार अभियानबारे संसद्लाई जानकारी गराएका हुन्।
प्रधानमन्त्री शाहले विपद्को यो घडीमा सरकार र सम्बद्ध निकायलाई थकानका कारण विश्राम लिने अवस्था नरहेको बताए। उनले ‘शरीर थाक्यो भनेर विश्राम लिने छुट नरहेको’ भन्दै उद्धार, खोजी तथा राहत कार्यमा निरन्तर जुट्नुपर्ने धारणा राखे।
उनले पीडाको समयमा भावनात्मक रूपमा कमजोर हुने वा एक–अर्कासँग पीडा साटेर बस्नेभन्दा पनि उद्धार र राहतलाई प्राथमिकता दिनुपर्ने समय रहेको बताए।