अमेरिका र इरानबीच एक महिनाभन्दा बढी समयपछि पहिलोपटक पुनः सैन्य हमला–प्रतिहमला भएको छ। आइतबार राति भएको यो घटनाले केही सातादेखि कायम रहेको सैन्य तनाव पुनः चर्किने जोखिम बढाएको छ।
अमेरिकाले इरानको लाराक द्वीपमा रहेका दुईवटा रकेट लन्चरलाई लक्षित गरी हमला गरेको थियो। अमेरिकी सेन्ट्रल कमान्ड (CENTCOM) का अनुसार ती लन्चरबाट होर्मुज जलडमरूमध्यमा समुद्री माइन बिछ्याउने तयारी भइरहेको थियो।
अमेरिकाले जलमार्गमा माइन बिछ्याउने इरानी गतिविधिलाई तत्कालको खतरा भन्दै ‘सीमित र सटीक’ कारबाही गरेको जनाएको छ। उक्त जलमार्ग विश्वको महत्वपूर्ण ऊर्जा आपूर्ति मार्गमध्ये एक हो।
अमेरिकी हमलापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले प्रतिशोधको चेतावनी दिएको थियो। त्यसपछि इरानले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य हवाई अखडालाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गरेको छ।
जोर्डनको सेनाले भने आफ्नो हवाई प्रतिरक्षा प्रणालीले आफ्नो आकाशमा प्रवेश गरेका ८ वटा क्षेप्यास्त्रलाई रोकेर नष्ट गरेको जनाएको छ। ती क्षेप्यास्त्रबाट सर्वसाधारण वा सम्पत्तिमा क्षति हुन नदिइएको जोर्डनको भनाइ छ।
अमेरिकाले गत साता होर्मुज जलडमरूमध्यका अन्तर्राष्ट्रिय जहाज आवतजावत गर्ने मार्गबाट समुद्री माइन हटाउने काम पूरा गरेको जनाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ माइन राखिए त्यस्ता गतिविधिमा संलग्न जहाज वा डुंगामाथि तत्काल कारबाही गरिने चेतावनी दिएका थिए।
इरान–अमेरिकाबीच करिब छ महिनादेखि जारी द्वन्द्वमा पछिल्लो समय सैन्य गतिविधि तुलनात्मक रूपमा कम भएको थियो। अमेरिकी प्रशासनले सैन्य कारबाहीभन्दा इरानमाथि आर्थिक दबाब र नयाँ प्रतिबन्ध बढाउने रणनीतिमा जोड दिँदै आएको थियो।
अमेरिकी ट्रेजरी सचिव स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने बैंक तथा संस्थामाथि हरेक साता नयाँ द्वितीयक आर्थिक प्रतिबन्ध घोषणा हुन सक्ने बताएका छन्।
यसैबीच, पछिल्लो अमेरिकी हमलापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ। ब्रेन्ट कच्चा तेल २.८ प्रतिशतले बढेर ९०.५७ डलर प्रतिब्यारेल पुगेको छ भने अमेरिकी कच्चा तेलको मूल्य २.७ प्रतिशतले बढेर ८५.६४ डलर प्रतिब्यारेल पुगेको छ।
होर्मुज जलडमरूमध्यमा तनाव बढ्दा विश्वव्यापी ऊर्जा आपूर्तिमा असर पर्न सक्ने भएकाले आगामी दिनमा तेलको मूल्य र अन्तर्राष्ट्रिय बजारमा थप दबाब पर्न सक्ने चिन्ता बढेको छ।