सेयर कारोबारी दीपेन्द्र अग्रवालमाथि झुटो सेयर कारोबार, मूल्य प्रभावित तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीसहित परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारका बैंक खाता रोक्का गरेको छ।
सीआईबीका प्रवक्ता अनुपम शमशेर जबराका अनुसार जारी अनुसन्धानका क्रममा अग्रवालसँग कारोबारमा जोडिएका परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको बैंक खाता रोक्का गरिएको हो।
‘ठगी, झुटो सेयर कारोबारलगायतका आरोपमा ब्यूरोले अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अनुसन्धानका क्रममा दीपेन्द्र अग्रवालसँग कारोबारमा जोडिएका परिवार सदस्य तथा व्यक्तिहरूको बैंक खाता रोक्का गरिएको हो।’
यसअघि नेपाल धितोपत्र बोर्डले अग्रवालको सेयर कारोबारमाथि अनुसन्धान गरी थप अनुसन्धानका लागि सीआईबीलाई पठाएको थियो। सोही अनुसन्धानका क्रममा सीआईबीले गत पुसमा अग्रवाललाई पक्राउ गरेको थियो। उनी १० दिन हिरासतमा बसेपछि हाजिरी जमानीमा रिहा भएका थिए।
अग्रवालले आफूले सस्तो मूल्यमा सेयर खरिद गरी त्यसपछि विभिन्न माध्यमबाट प्रचारप्रसार गरेर मूल्य बढाउने र बिक्री गर्ने गरेको आरोप लाग्दै आएको छ। धितोपत्र बोर्डको अध्ययनले समेत उनले झुटो कारोबार गरेको निष्कर्ष निकालेपछि थप अनुसन्धानका लागि सीआईबीलाई पठाइएको थियो।
बैंक खाता रोक्का भएको जानकारी पाएपछि अग्रवाल सीआईबी पुगेका थिए। ब्यूरोले अनुसन्धानमा सहयोग गर्न आग्रह गरेपछि उनी त्यहाँबाट फर्किएका थिए।
सीआईबी स्रोतका अनुसार अनुसन्धानका क्रममा अग्रवालको करिब ५५ अर्ब रुपैयाँको नेटवर्थ देखिएको छ। सोही आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ।
सीआईबीले अग्रवालले आपसी खरिद–बिक्री तथा आफन्तसँग सम्बन्धित संस्थाबीच वास्तविक स्वामित्व परिवर्तन नहुने गरी कारोबार गरेको विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ। अन्य व्यक्तिका कारोबार खाता आफूले सञ्चालन गर्ने, धितोपत्र ब्रोकरबाट लिनुपर्ने रकम असुल गर्ने तर आफूले तिर्नुपर्ने रकममा विवाद सिर्जना गरी भुक्तानी नगर्ने गरेको आरोपसमेत उनीमाथि लागेको छ।
यस्तै, एक कारोबार खाताको रकम अर्को व्यक्तिको खातामा आफैंले स्थानान्तरण गरेको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरीसमेत परेको थियो।
पछिल्लो समय अग्रवाल सिन्धुपाल्चोकस्थित भोटेकोशी हेली रिसोर्टको विवादमा समेत जोडिएका छन्। हाल रिसोर्ट बन्द अवस्थामा रहेको छ भने बैंकले तेस्रोपटक लिलामीको प्रक्रिया अघि बढाएको बताइएको छ।
रिसोर्टका कर्मचारीले पारिश्रमिक नपाएको भन्दै श्रम विभागमा उजुरीसमेत दिएका छन्। रिसोर्ट आफ्नो नियन्त्रणमा रहे पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा फर्जी सञ्चालक समिति बनाएर विवरण अद्यावधिक गरेको आरोप अग्रवालमाथि लागेको छ।
होटलको बहुसंख्यक सेयर लिएका अग्रवाल अध्यक्ष रहेको अवस्थामा बैंकले रिसोर्ट लिलामीको प्रक्रिया अघि बढाएपछि आफू कालोसूचीमा पर्नबाट जोगिन फर्जी विवरण तयार गरेको एक लगानीकर्ताले आरोप लगाएका छन्।