जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत अग्रगामी मोर्चाको प्रवक्ता चयन भएका छन् ।
मंगलबार बसेको मोर्चाको बैठकले राउतलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो । जिम्मेवारी पाएलगत्तै राउतले मोर्चाको तर्फबाट विज्ञप्तिसमेत जारी गरेका छन् ।
बैठकले मोर्चामा आबद्ध कुनै पनि दल आगामी प्रदेश निर्वाचनसम्म सरकारमा सहभागी नहुने निर्णयसमेत गरेको छ । मोर्चाले सरकारमा सहभागी हुनुभन्दा राजनीतिक सहकार्य र संगठन विस्तारलाई प्राथमिकता दिने संकेत गरेको छ ।
अग्रगामी मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, सीके राउत नेतृत्वको जनमत पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा आबद्ध छन् ।
मोर्चाले नेपालको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणप्रति प्रतिबद्ध रहँदै लोकतान्त्रिक, प्रगतिशील, समाजवादी तथा समावेशी राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै आएको छ ।
सीके राउत प्रवक्ता बनेसँगै मोर्चाका निर्णय र राजनीतिक धारणा सार्वजनिक गर्ने जिम्मेवारीसमेत उनको काँधमा आएको छ । आगामी प्रदेश निर्वाचनलाई लक्षित गर्दै मोर्चाले आफ्ना घटक दलबीचको सहकार्यलाई थप मजबुत बनाउने तयारी गरेको देखिन्छ ।