तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिटोलमा आक्रोश चुलिएको छ। घटनामा संलग्नलाई कडा कारबाहीको माग गर्दै स्थानीयवासीले बुधबार पथलैया–वीरगञ्ज सडकखण्ड अवरुद्ध गर्दै प्रदर्शन गरेका छन्।
सडकमा टायर बालेर प्रदर्शन गरेका स्थानीयवासीले बालिकाको हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्। प्रदर्शनका कारण केही समय पथलैया–वीरगञ्ज सडकखण्डको यातायातसमेत प्रभावित भएको थियो।
यसैबीच, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ना.१ ज ७७५८ नम्बरको म्याजिक गाडीका करिब १६ वर्षीय सहचालक (खलासी) सुमन थापा र म्याजिकका धनी जीतपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोगेस चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दुवै जनालाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मनोज चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी गत आइतबार बिहान करिब ९ बजे घरअगाडिबाट हराएकी थिइन्। परिवार तथा स्थानीयवासीले खोजी गरे पनि तत्काल फेला पार्न नसकेकी उनको शव मंगलबार साँझ घरदेखि करिब ५० मिटर दूरीमा रहेको भक्तिटोलकै एक सुनसान घरभित्र फेला परेको थियो।
बालिकाको शव फेला परेपछि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको प्रहरी टोली घटनास्थल पुगेको थियो। घटनाको अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय वीरगञ्जबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार म्याजिकका सहचालक थापाले बालिकालाई चकलेट दिएर फकाई सुनसान घरमा लगेको र त्यहाँ जबर्जस्ती करणी गरी हत्या गरेको खुलेको छ। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
घटनापछि स्थानीयवासीले बालबालिकाको सुरक्षा र प्रहरी निगरानीमाथि गम्भीर प्रश्न उठाएका छन्। उनीहरूले घटनाको निष्पक्ष तथा गहिरो अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्।