नेपाल लायन्सको ५५औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लब अफ वीरगञ्ज गेटवेले सञ्चालन गरेको सप्ताहव्यापी स्वास्थ्य सेवाअन्तर्गत वीरगञ्ज–१० स्थित घडिअर्वा पोखरी परिसरमा रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ११५ जनाको रक्तचाप र डाइबिटिज परीक्षण गरिएको आयोजकले जनाएको छ ।
स्पर्श अस्पताल वीरगञ्ज–१४ पिपराको प्राविधिक सहयोग तथा सञ्चालन, लायन्स डा. महेश्वरप्रसाद कुर्मीको स्वास्थ्य सहयोग र कार्यक्रम संयोजक वीरेन्द्रकुमार आर्यको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
लायन्स क्लब अफ वीरगञ्ज गेटवेका अध्यक्ष तथा समाजसेवी लायन्स प्रकाशकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट गभर्नर लायन्स रामबिहारी पाण्डे, सचिव लायन्स कपिलदेव तिवारीलगायत लायन्स वकिलप्रसाद रौनियार, लायन्स फैयाज आलम, लायन्स इन्जिनियर श्यामबाबुप्रसाद, लायन्स विकास जैसवाल तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूको रक्तचाप तथा रगतमा चिनीको मात्रा परीक्षण गर्नुका साथै स्वास्थ्यसम्बन्धी आवश्यक जानकारीसमेत प्रदान गरिएको थियो । आयोजकका अनुसार समुदायमै पुगेर नियमित स्वास्थ्य परीक्षणको पहुँच विस्तार गर्ने उद्देश्यले सप्ताहव्यापी स्वास्थ्य अभियान सञ्चालन गरिएको हो ।
अध्यक्ष उपाध्यायका अनुसार अभियानअन्तर्गत आगामी ५ गते बिहान वीरगञ्जको छपकैयास्थित ईदगाह चोकमा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिनेछ । यसअघि गत सोमबार वीरगञ्ज चिमिल परिसरस्थित पशुपतिनाथ मन्दिरमा समेत स्वास्थ्य कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिए ।
क्लबले लायन्सको ५५औँ वार्षिकोत्सवलाई केवल उत्सवका रूपमा मात्र नभई समुदायको स्वास्थ्यप्रति सचेतना र सेवाको माध्यमका रूपमा मनाउने उद्देश्यले विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ ।